प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमका विरुद्ध नेपाली काँग्रेसका भ्रातृ संगठनले सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विरोध प्रदर्शन र कोणसभा गरेका छन् ।
धनगढीको चौराहाबाट सुरु भएको सो विरोध -याली धनगढीकै पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महिला संघ कैलालीका जिल्ला अध्यक्ष पुष्पा भट्टले केपी ओली सरकारले विकासका नाममा भ्रष्टाचार गरी देशलाई संकटतिर धकेलेको आरोप लगाइन् । प्रधानमन्त्री ओलीका असंवैधानिक कदमकाविरुद्ध महिला संघले डटेर सामना गर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफ्ना गलत कदम नसच्याए जनताको आँधीबेहरीबाट उनकै पत्तासाफ गर्ने चेतावनीसमेत उनले दिइन् ।
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले प्रधानमन्त्री केपी ओलीले अहिलेसम्मका उपलब्धिहरुलाई हावामा उडाएको आरोप लगाए ।
विरोध प्रदर्शनमा नेपाली काँग्रेस निकट महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ लगायत सहभागी थिए ।