प्रथम युनाइटेड फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई 
2021/02/04, 8:45
 
football

कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ को उपाधि आयोजक महेन्द्रनगर युनाइटेड निलोले हात पारेको छ ।  

महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीयाका बीच बुधबार भएको फाइनल प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ३६ औँ मिनेटमा डिबक्स भित्र पिएफएको डिफेन्सद्वारा गरिएको फललाई महेन्द्रनगर युनाइटेडले पाएको पेनाल्टीमा युनाइटेडका टिम क्याप्टेन जर्सी नम्बर १४ का टेकेन्द्र थापाले आफ्नो टिमको लागि एक गोल गर्दै अग्रता दिलाएका थिए ।

अग्रतालाई टिकाउन नसक्दा दोस्रो हाफको ७१ औँ मिनेटमा पिएफए अत्तरीयाका जर्सी नम्बर ३ का सन्तोष कार्कीले आफ्नो टिमको लागि गोल गर्दै १र१ को बराबरीमा पुगाएका थिए । निर्धारित समयमा १र१ को बराबरी हुँदै इन्जुरी समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरी संगै ट्राइबेगरमा पुगेको हो । ट्राइबेगरमा पनि ४, ४ को बराबरी संगै सडनदेथमा महेन्द्रनगर युनाइटेड निलोले प्रतियोगिताको उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता बनेको टिमले नगद एक लाख, ट्रफी प्रमाणपत्र र मेडल हात पारेको छ भने उपविजेता टिम पिएफए अत्तरीयाले नगर ५० हजार, ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, रक्षक र उत्कृष्ट गोलकर्ता क्रमशः आकाश बुढा, किरन रावत र टेकेन्द्र थापा घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र बेष्ट इमेजिङ खेलाडी महेन्द्रनगर युनाइटेडका सुनिल धामी र कुशल देउबा घोषित भएसंगै प्रतियोगिताको उत्कृष्ट मध्यपंक्तिका खेलाडी पिएफए अत्तरीयाका कृष्ण तामाङले उपाधि हात पारेका छन् ।