सुदूरपश्चिमको कोरोना प्रयोगशाला हाँकिरहेका कमाण्डर
2020/06/01, 3:07
 
ramesh shahi

कोरोना भाईरस (कोभिड—१९को विश्वव्यापी महामारीमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसँगै प्रयोगाशालामा कोभिड—१९ परीक्षणमा संलग्नहरु पनि उत्तिकै जोखिम मोलेर कर्ममा डटिरहेका छन् । नेपालमा २० वटा प्रयोगशालाका कोभिड—१९ परिक्षण हुँदैं आएको छ । ती प्रयोगशालामा क्रियासिल जनशक्ती कोभिड—१९ को फ्रन्टलाईनरका रुपमा महामारी विरुद्ध दिनरात डटिरहेका छन् ।

कोरोना भाईरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नेतृत्व ३७ वर्षीय रमेश शाहीका काँधमा छ । प्रदेशभरबाट आएका स्वाबहरुको परीक्षण, प्रयोगशालाको जनशक्ति व्यवस्थापन जिम्मेवारी उनलै निभाइरहेका छन् । दैनिक २ सय ५० वटासम्म स्वाब परीक्षण हुँदैं आएको यो प्रयोगशालामा जनशक्ती ८ जना मात्रै छ । जसका कारण कहिलेकाही प्रयोगशालाको टिम रातिसम्म जाग्राम बसेर स्वाब परीक्षणका डटिरहेको हुन्छन । प्रयोगशालाको व्यवस्थापन गर्ने, सहकर्मी परिचालनदेखि रिपोर्टिङसम्मको काम शाहीले गरिरहेका छन् । 

कैलालीको गोदावरी–०६, हरैयामा हुन्, शाही । लोकबहादुर शाही र मायादेवी शाहीको सन्तानका रुपमा २०४० साल असारमा उनको जन्म भएको हो । उनको प्राथमिक तहको शिक्षा दिक्षा धनगढी स्थित ऐश्वर्या विद्या निकेतनबाट अगाडि बढेको हो । त्यसपछि उनी अध्ययनका लागि टीकापुर पुगे । टीकापुरको खडक मेमोरियल स्कुलबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । शाहीले कञ्चनपुरको सिद्धनाथ क्याम्पसबाट विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरे । त्यसपछि थप उच्च शिक्षाका लागि उनी भारतको देहरादुन पुगे । देहरादूनको कम्बाइन इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट ब्याचलर्स इन मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी (बीएमएलटी अध्ययन गर्न थाले ।

सन् २००७ मा उनले ब्याचलर उत्तीर्ण गरे । ‘मलाई कृषि पढ्ने रुची थियो,’ उनी भन्छन्, ‘तर, दाजुको सल्लाहमा स्वास्थ्य क्षेत्रमा आएको हुँ ।’ ब्याचलर सकेर उनी नेपाल फर्किए । नेपाल फर्किएपछि वि.सं. २०६५ सालदेखि सेती प्रादेशिक अस्पतालमा सेवा सुरु गरे । अहिले उनी त्यही अस्पतालको प्रयोगशाला प्रमुखका रुपमा कार्यरत छन् । अहिले सेती अस्पतालमा कोभिड–१९ नमुना परीक्षण गर्ने प्रयोगशालामा ८ जनाको टिम छ । जसमा एक जना महिला सदस्य पनि छन् । प्रयोगशालामा ३ जना सेती प्रादेशिक अस्पताल र ४ अन्य स्वास्थ्य संस्थामा कार्यरत जनशक्ति हुन् भने १ जना सेभ द चिल्ड्रेन संस्थाको सहयोगमा काम गरिरहेका छन् । धनगढी स्थित प्रयोगशालाको टिम धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना भएको कोभिड–१९ परीक्षण गर्ने पीसीआर ल्याबमा सेती अस्पताल अन्तर्गत नै नमुना परीक्षण भइरहेको छ । ‘सुरुवाती चरणमा अरु प्रदेशमा प्रयोगशाला स्थापना नभएकाले १ सय ५० वटा जति नमुना सुर्खेतबाट ल्याएर पनि परीक्षण ग¥यौं,’ उनले भने । कोभिड—१९ शंकास्पद नमुनाहरु परीक्षणमा काम गर्दा कस्तो अनुभव हुँदोरहेछ ? भन्छन, ‘सुरु–सुरुमा कोरोना नयाँ भाइरस भएकाले डर लाग्थ्यो । तर, अहिले त्यस्तो छैन । मज्जाले काम गर्न सकिन्छ ।’

जे भएपनि उच्च संक्रमण जोखिम भएकाले कोभिड—१९ को स्वाब परीक्षणमा अलिअलि डर हुने उनी बताउँछन् । ‘हामी पोजेटिभ नमुनासँग खेल्नुपर्ने भएकाले प्रत्यक्ष सम्पर्कमै हुन्छौं’ शाहीले भने, ‘त्यसैले उच्च सतर्कता अनपाएर काम गर्नुपर्छ ।’ कोरोना परीक्षणमा खटिएसँगै शंकास्पद नमुनासँग खेल्नुपर्ने दायित्व उनीमाथि आइपरेको छ । जसका कारण सम्भावित जोखिमलाई कम गर्न उनले परिवारसँगका पनि दूरी बनाएका छन् । ‘परिवारलाई भेट्न नपाएको २ महिना भयो,’ उनी सुनाउँछन् । उनका परिवारका सबै गाउँमा बस्छन् । उनी भने धनगढी स्थित घरमा एक्लै बसिरहेका छन् । जोखिम मोलेर भएपनि सहकर्मीको नेतृत्व र बिरामीको सेवा गर्न पाउँदा गौरव महसुस भएको उनले बताए । जोखिमका काम गर्दा सदैव हौसलाको विशेष स्थान हुने अनुभव पनि उनले गरेका छन् ।

‘हामी कोरोना भाइरस परीक्षणको लागि संकलन गरिएका नमुनाहरुको सिधा सम्पर्कमा हुनुपर्छ,’ उनी भन्छन, ‘त्यसैले हामीलाई पनि हौसल दिएमा काम गर्ने मनोबल उच्च हुन्छ ।’ नमुना संकलनदेखि परीक्षण र रिपोर्टिङ गर्ने जिम्मेवारी उनको काँधमा छ । अहिले प्रयोगशालामा दैनिक २ सयदेखि २ सय ५० सम्म नमुना परीक्षण भइरहेका छन् । कम जनशक्तिका कारण कामको चाप उतिकै छ । सरकारले परीक्षणको दायरा बढाउनुपर्ने भनेपनि जनशक्ति बढाउनमा ध्यान नदिएको गुनासो उनको छ । ‘अहिले प्रयोगशालामा कार्यरत सहकर्मीहरु दैनिक १२–१३ घण्टा काम गर्छौ । दबाब पनि धेरै छ,’ उनी सुनाउँछन्, ‘२ महिनामा एकदिन पनि कसैले बिदा नलिई काम गरिरहेका छौं ।’ कहिलेकाही राति २ बजेसम्म पनि काम गर्नुपरेको उनले सुनाए । ‘यो चुनौतीलाई सिक्ने अवसरका रुपमा लिएको छु,’ शाही कुराकानीको बिट मार्दै भने ।