धार्मिक आस्थाको केन्द्र वेहडाबाबाको मुहार फेरियो तर गंगा दशहरा मेला हुन सकेन
2020/06/02, 7:50
 
behada baba

धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिर क्षेत्रले मुहार फेर्दै गएको अवस्थामा यसपाली गंगा दशहरा मेला हुन सकेन । धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रलाई सुदुरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ व्यवस्थापनको कार्य भएपछि मन्दिरको मुहार परिर्वतन भएपचि यस बर्षको मेला लकडाउनका कारण र कोरोनाका कारण हुन नसकेको हो । 

मन्दिर क्षेत्रमा करोडौंका भौतिक संरचनाहरुको निर्माणसँगै राम्रो व्यवस्थापन भएपछि मन्दिर क्षेत्रको मुहार विगतभन्दा फेरिएको हो । विगतका बर्षहरुमा हिलाम्मे हुने मन्दिर क्षेत्रमा परिवर्तन आएको छ । तर यसपाली नै गंगा दशहरा मेला हुन नसकेको हो । गंगा दशहरा मेला भर्न नेपालबाट मात्रै होईन भारतबाट लाखौं भक्तजनहरु पुग्ने गरेका थिए । तर यसपालीको गंगा दशहरामा आसपासका केही स्थानीयहरुले पुजाआजा गरेपनि अन्यत्रबाट कोही आउन नसकेको मन्दिरका पुजारीहरुले बताएका छन् । विगतका बर्षहरुमा गंगा दशहरा मेलाका दिन वेहडाबाबा क्षेत्रमा खुट्टा राख्नै मुस्किल हुने गरेको थियो ।   

बेहडाबाबाको विशेषताः 
बेहडा बाबा सुदुरपश्चिम प्रदेशको मात्रै नभई मुलुककै बहुचर्चित आस्थाको केन्द्र मानिन्छ । जहाँ पत्नी लाभ, पुत्रलाभ, धनलाभ लगायत धेरै मनोकांक्षा बोकेर तिर्थालुहरू आउने गरेको स्थानीय बताउँछन् । राज्यको उचित लगानी हुन नसक्दा ओझेलमा पर्दै आएको थियो । तर प्रचार प्रसार हुन थालेपछि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकासु हुँदै गएको छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार मन्दिर भएको स्थान घना जंगल रहेको स्थान हो । परापूर्वकालमा शिवलिंग आफैँ उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी तथा वयोवद्धहरूको भनाइ छ ।

रामपुर गाउँस्थित जंगल किनारमा अवस्थित सो मन्दिरमा भएको शिव लिंग परिवर्तनशील देखिएको छ । उहिले भारतीयहरूको सो क्षेत्रमा दबदबा थियो । जंगबहादुर राणाले व्रिटिश कम्पनीलाई सघाए वापत प्राप्त भएको नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भू–भागमा उहिले भारतीयहरू नै आवतजावत गर्ने गर्थे । त्यस ठाउँमा बाक्लो जंगल भएका कारण त्यहाँ मानिसहरूको त्यति बसोबास थिएन । जब सो मुलुक नेपाललाई भारतले बक्स गरेपछि त्यहाँ फाट्टफुट्ट नेपाली मूलका आदिवासीहरू त्यहाँ बसोबास शुरु गरेको बताईन्छ ।

भारतीय नागरिकहरू त्यहाँ घुम्न आएका बेला सो लिंग फेला पारेका थिए । भारतीयहरू शिव लिंगमा डोरीले बाँधेर कयौंपटक उखेल्न प्रयास गरेको तर उनीहरूको प्रयास असफल भएको जनाइएको छ । उखेल्न नसकेपछि उनीहरूले फलामको घनले हिर्काएका थिए रे । घनले हिर्काएको छाप अहिले पनि लिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । उनीहरू लिंगलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत) मा लग्ने लाख प्रयास गर्दा पनि लिंग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।

आदिवासी थारूहरू त्यस ठाउँको जंगल फँडानी गरी बस्न योग्य बनाएपछि चलाख भारतीय नागरिक पनि त्यहाँ आइ बसोबास गरेको मानिन्छ । मन्दिर स्थापना गर्न तथा त्यसको स्यहारका लागि पनि भारतीय नागरिक त्यहाँ बसाँइ गर्न आएको जनविश्वास छ । सानो रूपमा देखिएको सो शिवलिंग अहिले बढ्दै–बढ्दै ७÷८ फिट अग्लो भएको छ । अहिले त्यहाँ पक्की मन्दिर स्थापना गरिएको छ । तर पूजारी भने अहिले भारतीय नागरिकलाई हटाइ त्यहाँका आदिवासीहरूलाई नियुक्त गरिएको छ ।
मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थीहरू शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलासयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ । यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ । यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटकहरू दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् । .

पुत्र, पत्नी, धन लाभ हु्ने विश्वास
बेहडाबाबा मन्दिरको गाथा भगवान शिवसंग जोडिएको छ । र, बेहडाबाबाको दर्शन गरेर मागेको चिज पूरा हुने जनविश्वास रही आएको छ । बेहडाबाबाको शिवलिङ्ग भगवान शिवको प्रतिकका रुपमा मानिन्छ । भगवान शिवको प्रतिकका रुपमा रहेका नेपालको पशुपतिनाथ र भारतको केदारनाथ जत्तिकै बेहडाबाबाको धार्मिक महत्व रहेको बेहडाबाबा मन्दिरका पुजारी चेतराज भट्टले बताए । ‘यो मन्दिरमा पूजाआजा गर्नाले पुत्र, पत्नी, धन लाभ हुन्छ’, उनले भने– ‘यहि विश्वासका साथ भारतको दिल्लीसम्मका भक्तजन यहाँ दर्शनको लागि आउने गर्दछन् ।’ प्रचण्ड गर्मीमा गौरीफन्टा नाकादेखि बेहडाबाबा मन्दिरसम्म प्रायः पैदल हिडेर पुग्ने भारतीय दर्शनार्थीहरुले बेहडाबाबा मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने गरेको बताउँछन् । उनीहरुमध्ये कोही पत्नी, कोही धन, कोही सन्तान, सुख माग्नका लागि बेहडाबाबा मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।

एक किवंदन्ती अनुसार कुनै समय जङ्गलै जङ्गल रहेको हालको बेहडाबाबा मन्दिर क्षेत्रमा गोठ बनाएर भारतीय गोठालाहरुले गाईभैंसी चराउने गर्दथे । बेहडाबाबामा गोठ बनाएर गाईभैंसी चराउने भारतको सिङ्गाही स्थित कन्हैया अहिर भन्ने गोठालाको गोठमा गाई ब्याएको थियो । तर, उक्त गाईले दूध दिने गरेको थिएन । ब्याएको गाईले हरेक दिन दूध नदिएपछि ती गोठालाले दिउँसो गाईलाई पछ्याउँदै गए । आफ्नो गाईले एक ठाउँमा दूध बगाउने गरेको ती गोठालो तथ्य फेला पारे । त्यसपछि तिनै कन्हैया भन्ने गोठालाले गाईले दूध बगाएको ठाउँमा खन्दा शिवलिङ्ग फेला परेको किंबदन्ती रहेको बेहडाबाबा मन्दिरको संरक्षण गर्दै आउनु भएका स्थानीय खुशीराम चौधरी बताउँछन् ।  ‘ती गोठालाले खन्नेक्रममा शिवलिङ्गको माथिल्लो भागमा लागेको चोट अझै पनि देख्न सकिन्छ’, उनले भने– ‘यसरी बेहडाबाबा मन्दिरको सम्बन्ध परापूर्वकालदेखि भारतसंग जोडिएकाले पनि भारतीय श्रद्धालुहरु पूजा आजाका लागि बढी आउने गर्दछन् ।’ 

मन्दिरसम्म कसरी पुग्ने ?
बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजार स्थित क्याम्पस चोकबाट करीब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ । 

मुहार फेरिदै बेहडाबाबाको
कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाँबा मन्दिरमा करिब २ करोड रुपैयाको लागतमा भौतिक संरचना निर्माणको काम भएसंगै बेहडाबाबा मन्दिरको मुहार फेरिन थालेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को रामपुरमा रहेको उक्त मन्दिरमा अहिले ५ सय मिटर नाली सहितको पकी सडक, मन्दिरको चारैतिर पर्खाल निर्माण, खानेपानी र मन्दिर परिर्षदमा कृष्णमन्दिर निर्माणको काम भईरहेको छ । बेहडाबाबा मन्दिर प्रतिको छुटै धार्मिक विश्वास भएका कारण बर्षेनी नेपाल र भारतका करिब ३ लाख भक्तजनहरुले पुजा–आजा गदै आएका छन् ।

लामो समय देखि ओझेलमा रहेका बेहडाबाबा मन्दिरको स्थानीय तहको निर्वाचनपछि मुहार फेरिदै गएको छ । मन्दिर परिर्षदमा अहिले २७ लाखको लागतमा खानेपानीको व्यवस्था, १५ लाखको लागतमा १ सय ३७ मिटर पर्खाल र ५ मिटर नाली सहितको पक्की निर्माणको काम भईरहेको छ । त्यस्तै संघन सहरी विकास कार्यक्रम अन्तरर्गत करिब डेर करोडको लागतमा बेहडाबाबा मन्दिर परिषदमा रिङरोडको काम भईरहेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष खेम बहादुर चन्दले बताए । उनले स्थानीय तहमा जनप्रतिनिधि आएसंगै बेहडाबाबा मन्दिर व्यवस्थापनको पाटोमा सुधार हुदै गएको जानकारी दिए ।

वेहडाबाबा मन्दिरमा गंगा दशहरा, चैते औसी, शिवरात्री र माघीमा मेला लाग्ने गर्दछ । मेलामा नेपालका विभिन्न जिल्ला सहित भारतबाट समेत ठुल्लो संख्यामा दर्शनार्थी आउँने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य पदम बहादुर धामीले बताए । बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रको मात्रै नभई नेपालकै चर्चित मन्दिर मध्येको एक मन्दिर रहेको मन्दिरका मुल पुजारी चेतजराज भट्टले बताए । उनले बेहडाबाबा मन्दिरमा बर्षनी नेपाल तथा भारतबाट पति तथा पुत्रलाभको विश्वास बोकेर तिर्थालुहरु आउने गरेको जानकारी दिए ।

बेहडाबाबा मन्दिरमा पुजा गरेको अवस्थामा मनले सोचेको काम पुरा हुने भएकैले होला, मन्दिरमा श्रद्धालुहरुको भीड बढिरहेको उनको भनाई छ । मुलपुजारी भट्टले मन्दिर व्यवस्थापन समितीले मन्दिर परिषदमा भक्तजनहरुका लागी धर्मशाला निर्माण भईरहेको बताए । बेहडाबाबा मन्दिर सुधारको जिम्मा अहिले धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी उपमहानगरपालिकाले गुरु योजनामा पारेरका काम गरिरहेको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप वहादुर वडले बताए । उनले कैलाली जिल्लाकै प्राचिन धार्मिक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि उपमहानगरपालिका जिम्मेवारी पुर्वक लागि परेको बताए ।

बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढीवाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम राजमार्गको चौमाला बजारवाट करिब छ किलोमिटर दक्षिणमा अवस्थित छ । मन्दिरसम्म जाने दुवैतिरवाट गतिलो सडक मार्ग नहुँदा भक्तजनहरुले सास्ती खेप्दै आएका छन् ।