सुदूरपश्चिम प्रदेश लिग बिहीबार र शनिबारः उपाधिका लागि स्टार सिटी र दीपज्योती भिड्ने
2021/02/10, 5:17
 
sports

सुदूरपश्चिम प्रदेश लिग बिहीबार र शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिगको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

एन्फा अन्तर्गत आबद्ध रहेका कैलालीको जिल्ला च्याम्पीयन निसर्ग स्टार सिटी युवा क्लब र कञ्चनपुरको जिल्ला च्याम्पीयन दीपज्योती युवा क्लबले होम एण्ड अवेको आधारमा उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल संघका महासचिव अमृत शाहले जानकारी दिए । 

2

बिहीबार दुबै टोलीले महेन्द्रनगर रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल धनगढीको जुगेडामा रहेको मनकामना युवा क्लबको मैदानमा खेल्नेछन् । प्रदेश लिगको उपाधि जित्ने टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै एन्फा प्रेसिडेन्ट कपमा सहभागीता जनाउनेछ । 

होम एण्ड अवेका आधारमा प्रदेशका दुई जिल्लाका च्याम्पीयन टीमहरुका बीचमा प्रदेश लिग हुनेछ । सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् । कैलाली र कञ्चनपुरमा रहेका जिल्ला च्याम्पीयनहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् ।  कैलालीबाट जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लब भएको छ भने कञ्चनपुरबाट दिपज्योती युवा क्लब भएको छ ।

सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ । 

प्रदेश लिगको सम्पूर्ण तयारी पुरा भएको प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । चार लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा एन्फाले तीन लाख रकम सहयोग गर्नेछ भने अपुग रकम स्थानीयस्तरबाट व्यहोरिने भएको छ । पत्रकार सम्मेलनमा प्रदेश लिगमा सहभागीता जनाउने दुबै टोलीको जर्सी सार्वजनिक गरिएको छ । 

2

कैलालीको जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लबलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटलले प्रदेश लिग खेल्नका लागि साथ दिएको छ । निसर्ग अस्पतालले मुख्य प्रायोजक भएर साथ दिएको हो ।

क्लबको नाम अब निसर्ग स्टार सिटी युवा क्लब भएको छ । यस्तै क्लबको सह–प्रायोजकमा एमएनएस ग्रुप रहेको छ । २०७१ सालमा स्थापना भएको क्लब दुई पटक जिल्ला च्याम्पीयन बनेको छ । क्लबले कुवेर सिंहको कप्तानीमा प्रदेश लिग खेल्ने टीमको घोषणा गरेको छ ।   

कञ्चनपुरको जिल्ला च्याम्पीयन दीप ज्योती क्लब दुई पटक जिल्ला च्याम्पीयन भएको छ । २०४७ सालमा दीपज्योती स्पोर्टस युवा २०६४ सालमा दीपज्योती क्लबको नामदेखि खेलकुदमा लाग्दै आएको छ । हल्दुखालमा रहेको क्लब कबड्डीका लागि निकै चर्चित मानिन्छ ।