मोटरेवल पुल निर्माणमा ढिलाइ
2021/02/12, 10:31
 
pool

जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ ।

सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ । ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पु-याउनका लागि गाडी नअटाउने भएकाले झोलुङ्गे पुल हटाउनुपर्ने र्निमाण कम्पनीले जानकारी दिएको छ ।

सेती नदी पारी रहेका स्थानीय तहलाई जोड्ने गरी २०७३ साल नै निर्माण सम्पन्न हुनेगरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो । लागत अनुमान नै त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेपछि गत वर्ष लागत परिवर्तन गरी पुनः बोलपत्र आह्वान भई निर्माण कार्य शुरु भएको थियो ।

झण्डै रु आठ करोडको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाइको पानकोट पुल यसै वर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनले काम अघि बढाएको थियो ।

मोटरेवल पुलसँगै रहेको झोलुङ्गे पुल नगरपालिकाले हटाउनमा कुनै चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि कपिल राईले जानकारी दिए ।

उनले झोलुङ्गे पुलका कारण सामान ढुवानी गर्न नसकिएको बताए । नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुङगे पुल नहटाइ काम गर्न सकिने अवस्था छैन ।