सुदूरपश्चिम प्रदेश लिगको पहिलो खेलमा स्टार सिटी विजयी
2021/02/12, 11:16
 
sports

सुदूरपश्चिम प्रदेश लिग अन्तर्गतको पहिलो खेलमा निसर्ग स्टार सिटी युवा क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिगको महेन्द्रनगरमा भएको खेलमा स्टार सिटी ३–२ ले विजयी भएको हो । 

एन्फा अन्तर्गत आबद्ध रहेका कैलालीको जिल्ला च्याम्पीयन निसर्ग स्टार सिटी युवा क्लबले कञ्चनपुरको जिल्ला च्याम्पीयन दीपज्योती युवा क्लबलाई पहिलो खेलमा पराजित गरेको हो ।

स्टार सिटीको जितमा चेतमान कठायतले दुई तथा कप्तान कुवेर सिंहले एक गोल गरे । चेतमानले पहिलो हाफको ५ मिनेट र ४३ औं मिनेटमा गोल गरे भने कुवेरले पहिलो हाफको ३९ औं मिनेटमा गोल गरे । पहिलो हाफमा ३–० को अग्रता लिएको स्टार सिटीले दोस्रो हाफमा गोल गर्न नसक्दा दुई गोल भने खायो ।

दीपज्योतीका लागि शुभम चन्दले दोस्रो हाफको ५७ औं र धिरेन्द्र शाहले ६४ औं मिनेटमा गोल गरे । 
दुबै टोलीले शनिबार दोस्रो खेल धनगढीको जुगेडामा खेल्नेछन् । लिगको पहिलो खेलमा जित हात पारेको स्टार सिटीले अब दोस्रो खेलमा जित हात पारेमा बराबरी गरेमा सिधैं प्रेसिडेन्ट कपका लागि छनोट हुनेछ ।

दीपज्योतीलाई भने अगाडी बढ्न स्पष्ट जित सहित गोल अन्तरको आवश्यकता पर्नेछ । स्टार सिटीले अवे खेल जित्दा दीपज्योतीले होम खेल गुमाएको हो । 

सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् ।

सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।