कञ्चनपुरका ओली समूहका नेताले प्रधानमन्त्रीलाई भने- सीमापार यातायात तत्काल सञ्चालन गरियोस्
2021/02/12, 8:31
 
kp oli

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहका कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरूले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार भेटेर यस्तो माग गरेका हुन् । केन्द्रीय सदस्यहरूले कञ्चनपुर क्षेत्रमा भारतसँगको सीमा स्ट्रिप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेको उल्लेख गर्दै यसलाई अविलम्ब सच्याउनसमेत माग गरेका छन् ।

नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करिडोरका लागि बजेटलगायत सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनका कारण भइरहेको ढिलाइ अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने आवाजसमेत उठाएको एक नेताले जानकारी दिए ।

यसैगरी नेताहरूले प्रधानमन्त्रीसँग पुनर्वास नगरलाई  स्मार्ट सिटीका रूपमा विकास गर्न र शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुनस्र्थापना गरिनुपर्ने विषयमा समेत छलफल गरेका थिए ।

भेटमा नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट तथा केन्द्रीय सदस्यहरू राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामीलगायत नेता सहभागी थिए ।