निसर्ग स्टार सिटी सुदूरपश्चिम प्रदेश लिग च्याम्पीयन, प्रेसिडेन्ट कपका लागि छनोट
2021/02/13, 6:47
 
sports

धनगढीको निसर्ग स्टार सिटी युवा क्लब सुदूरपश्चिम प्रदेश लिग च्याम्पीयन भएको छ । दुबै खेलमा स्पष्ट जित हात पार्दै निसर्ग स्टार सिटी प्रेसिडेन्ट कपका लागि सुदूरपश्चिमबाट छनोट भएको हो ।

अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिगको विजेता बीचको खेलमा महेन्द्रनगरको दीपज्योती क्लबमाथि ५–३ को जित सहित स्टार सिटी च्याम्पीयन भएको हो ।

3

धनगढीका जुगेडा स्थित मनकामना युवा क्लबको खेल मैदानमा भएको दोस्रो खेलमा निसर्ग स्टार सिटीले दीपज्योतीलाई २–१ को अन्तरले हराएको हो । पहिलो हाफ गोल रहित भएको खेलमा तीन वटै खेल दोस्रो हाफमा भएको हो । दोस्रो हाफको ४८ औं मिनेटमा स्टार सिटीका कप्तान कुवेर सिंहले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि ५३ औं मिनेटमा स्टार सिटीका दिवस बोहोराले गोल गर्दै अग्रता दोब्बर पारे ।

५७ औं मिनेटमा दीपज्योतीका लागि धिरेन्द्र शाहले एक गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि खेल स्टार सिटीले २–१ ले जित्यो । यसअघि गत विहीवार महेन्द्रनगरमा भएको खेलमा पनि स्टार सिटी ३–२ ले विजयी भएको थियो ।

लिगका विजयी खेलाडीहरुलाई धनगढीका मेयर नृपवहादुर ओडले पुरस्कार वितरण गरे । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक दीपज्योतीका आकाश बुढा भए । उत्कृष्ट डिफेन्डर दीपज्योतीका अर्जुन विष्ट भए ।

3

प्रतियोगिताको उत्कृष्ट खेलाडी निसर्ग स्टार सिटीका विवेश सन्जेल भए । समग्रमा ५–३ को जित निकालेको स्टार सिटीले अब सात वटै प्रदेशका च्याम्पीयनहरु बीचमा प्रतिस्पर्धा हुनेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् ।

सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।