तेश्रो साहना प्रधान स्मृति महिला हक्की: सुदूरपश्चिमको तेश्रो जित
2021/02/13, 8:02
 
hocky

सुदूरपश्चिम प्रदेशले तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगितामा शनिबार लगातार तेश्रो जित हात पारेको छ । कञ्चनपुरको महेन्द्रनगरमा जारीे प्रतियोगितामा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–० गोलले पराजित गरेको हो ।

सुदूरपश्चिमका लागि सुनिता नेगीले २४ औं गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन् । त्यस्तै ४२ औं मिनेटमा लक्ष्मी बमले गोल गरिन् । पाँच टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको सुदूरपश्चिमको नौ अंक भएको छ ।

समान तीन खेल खेलेको नेपाल आर्मीको पनि नौ अंक छ । आइतबार आर्मी र सुदूरपश्चिमबीचको दोश्रो तथा प्रतियोगिताकै अन्तिम खेलले विजेताको टुंगो लगाउने छ । तीनै खेल खेलिसकेको गण्डकी जितविहीन छ ।

त्यसअघि दिनको पहिलो खेलमा प्रदेश २ ले प्रदेश १ लाई १–० गोलले हरायो । गुडिया सराफले २२ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । सबै चार खेल खेलेको प्रदेश २ को समान २–२ जित र हारसँगै छ अंक पुगेको छ । यससँगै प्रदेश २ ले तेश्रो स्थान पक्का गरेको छ । तीन खेल खेलेको प्रदेश १ अंकविहीन छ ।