भागरथी हत्या प्रकरण: संदिग्धको घेरामा सरकारी कर्मचारीदेखि शिक्षकसम्म
2021/02/14, 11:43
 
death

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी छ । प्रहरी अधिकारीहरुका अनुसार अनुसन्धान सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किएकी थिइनन् । उनी २१ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि हत्या भएको खुलेको थियो । उनको घाँटी थिचेर हत्या गरिएको रिपोर्टमा उल्लेख छ । अनुसन्धान टोलीको नेतृत्व गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडीमा छन् ।

अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ । प्रहरीले सम्भावित संदिग्ध व्यक्तिहरुको सूची बनाएको छ । स्रोतले भन्यो, “संदिग्धको सूचीमा सरकारी कर्मचारी, शिक्षक, चिनजानका अन्य व्यक्ति छन् । अनुसन्धानमा केही सकारात्मक संकेत फेला परेका छन् । सम्भवतः छिट्टै अभियुक्त सार्वजनिक गर्छौँ ।”

केही संदिग्ध व्यक्तिहरुको व्यवहार र बोली शंकास्पदसमेत पाइएको छ । प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरेको छ । प्रहरीले पछिल्ला दिनहरुमा भागरथीका साथीलगायतका अन्य शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । घटनास्थलमा भागरथीको मोबाइल भेटिनुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने सकारात्मक संकेत मान्दै आएको छ । यसबाहेक प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको थियो । विभिन्न तथ्य र सूचनाका आधारमा १५ जना बढी शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको हो । भागरथीलाई २१ गते मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको बताएको छ ।