प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसद्वारा सुदूरपश्चिमभर प्रदर्शन
2021/02/15, 5:39
 
congress

प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले सोमबार देशैभरी प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले देशभर प्रर्दशन गरेको हो। 

सोही अनुसार धनगढीमा पनि विरोध प्रदर्शन गरिएको छ। धनगढीको चौराहादेखि पार्कमोडसम्म र्‍यालीसहित कांग्रेसले प्रदर्शन गरेको थियो। जिल्लाका सबै स्थानीय तहबाट विरोध प्रदर्शनमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सोही विरोधस्वरुप कांग्रेस कैलालीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ। पार्कमोड नजिक भएको उक्त रक्तदान कार्यक्रममार्फत १ सय ३ पिन्ट रगत संकलन गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ। 

 बैतडी सदरमुकाममा नेपाली कांग्रेस बैतडीले विरोधमा प्रदर्शन गरेको छ। जिल्लाका १० वटै स्थानीय तहबाट विरोध प्रदर्शनमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। 

विरोध जुलुसपछि गोठलापानीमा आयोजित विरोध सभामा नेताहरुले सरकारले संविधान मिचेर संसद भंग गरेको आरोप लगाएका छन्। शाहीलेकको लोकतान्त्रिक चोकबाट शुरु भएको विरोध र्याली गढी हुँदै गोठलापानीमा पुगेर कोणसभामा परिणत भएको छ।

विरोधसभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले संसद् विघटन सर्वसत्तावादी चिन्तनबाट भएको आरोप लगाएका छन्। ‘संसद विघटन संविधान विपरीत छ। हामी यो विषयमा स्पष्ट छौं। प्रधानमन्त्रीले सर्वसत्तावादी चिन्तनले संसद विघटन गरेका हुन्’ उनले भने। 

नेता लेखकले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधिन रहेकाले सर्वोच्चको निर्णय आफूहरुलाई स्वीकार हुने बताए। सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक भएपनि सर्वोच्चको निर्णय भने आफूहरुले मान्ने उनले बताए। आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै नेता लेखकले नेकपामा ठूलो भुइँचालो गएको बताए। 

नेता लेखकले बलात्कारपछि हत्या गरिएकी भागरथीका हत्यारालाई छिटो पत्ता लगाउन सरकारसँग माग गरेका छन्। भागरथीको न्यायका लागि आफ्नो पार्टीले सबै प्रकारका पहल गर्ने उनले बताए। 

यस्तै नेपाली कांग्रस डडेल्धुराले पनि संसद् विघटन विरुद्ध जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ। बागबजारको बसपार्कबाट कांग्रेसले विरोधर्यालीको आयोजना गर्दै तुफानडाँडा चोकमा कोणसभा गरेको थियो। 

सभामा बोल्दे सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले कम्युनिस्ट सरकारले गरिरहेका काम घाम जस्तै छर्लङ्ग देखिएकाले कांग्रेसले सदैव प्रजातन्त्रको रक्षा गर्ने बताए। 

उनले कांग्रेस हार्दा देशले हार्छ भन्ने कुरा स्पष्ट भएको बताए। गएको चुनावमा नेपाली कांग्रेस पराजित भएकै कारण अहिले देशमा यस्तो स्थिती आएको उनको दाबी छ।