धनगढीमा क्रिकेटको मजबुत जग बनाईरहेका रामचन्द्र
2021/02/17, 10:55
 
rc

क्रिकेटर बन्न भारतबाट फर्किएका कैलालीको सुख्खडका १६ वर्षीय रुपेश थापा लिटिल फ्लावर प्रिमियर लिगबाट खेल सुरू गर्दैछन्उनको राष्ट्रिय क्रिकेट टोलीको बलर बन्ने सपना छ।

कक्षा ९ सम्म भारतको मुम्बई बरेलीमा पढ्दै गर्दा क्रिकेट खेलिरहेका उनी सुदूरपश्चिमबाट अन्डर(१९ टोलीमा पर्न चाहन्छन्।  यसैका लागि केही महिनाअघि उनी नेपाल आएका थिए। धनगढीमा लिटिल फ्लावर प्रिमियर लिगबारे माइजुले भनेपछि उनी यतै डेरामा बसेर पढाइसँगै क्रिकेटमा लागेका छन्।

‘सुख्खडमा ७ किलोमिटर पर गएर खेल्नुपर्थ्यो, यहाँ नजिकै अभ्यास गर्न सकिन्छ र पढ्न पनि,’ उनले भने।  धनगढीमा स्कुले साथीहरूसँग क्रिकेट अभ्यास गर्न, प्रतियोगितामा सहभागी हुन पाएपछि अब भारत जान मन नलागेको उनी बताउँछन्।

‘अब यहीँ खेलेर छनोट हुने तयारी गर्छु,’ उनले भने। बैतडी मेलौलीका नरेन भट्ट पनि क्रिकेटर बन्न चाहन्छन्। उनी पनि क्रिकेटमा भविष्य खोज्दै धनगढी पुगेका हुन्।  भाइसँगै डेरामा बसेर उनी क्रिकेट र पढाइ दुबै अगाडि बढाइरहेका छन्।

‘अहिले यहाँ स्कुलले पनि अभ्यास गर्न लगाउँछ, प्रतियोगितामा पनि सहभागी हुन पाइन्छ,’ उनले भने। बैतडीमा हुँदा टेनिस बल खेल्ने उनी अहिले लेदरको बल खेल्न थालेका छन्।  ‘यहाँ कोचले सिकाउनुहुन्छ, धेरै कुरा थाहा हुँदैछ,’ उनले भने।

उनले धनगढी आएर क्रिकेट खेल्न थालेपछि विभिन्न राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेलाडी भएर अवार्ड जितिसकेका छन्। गत साता मात्रै रुपन्देहीको भैरहवामा सम्पन्न भएको तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर- १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनी म्यान अफ द सिरिज र बेस्ट ब्याट्सम्यान घोषित भएका थिए।

‘बुवाआमा खेतीपाती गर्छन् तर मलाई क्रिकेटर बनेर देशको लागि खेल्न इच्छा छ,’ उनले भने।  नेपालको अन्डर- १९ राष्ट्रिय टोलीमा समेत रहेका खेलाडी विपिन रावलले स्कुल स्तरमा आयोजना हुने प्रतियोगिताले राम्रो खेलाडी उत्पादनमा मद्दत पुग्ने बताए।  ‘ग्रासरुटदेखि स्टार्ट हुने भएकाले स्कुलस्तरबाटै हुने प्रतियोगिताले खेलाडीलाई अवसर मिल्छ, क्षमतावान् खेलाडीलाई अघि बढ्न हुन्छ,’ उनले भने।

लिटिल फ्लावर प्रिमियर लिगले आफूमा आत्मविश्वास बढाएको उनले बताए। प्रशस्त खेल गतिविधि भए अभ्यास बढी हुने उनको अनुभव छ। अभ्यास बढी हुन सके खेलाडीमा निखार आउने उनले बताए।  शिक्षक रामचन्द्र शाही धनगढीमा पाँच वर्षदेखि विद्यालय स्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउन लागिपरेका छन्।

एक निजी स्कुलका प्रधानाध्यापक पनि रहेका उनी २०७३ सालदेखि कलिला क्रिकेटरका साथी बनेका छन्। सुरूमा कैलाली र कञ्चनपुरका विद्यार्थीबीच क्रिकेट आयोजना गर्ने उनले पछिल्ला वर्षमा देशभरबाट विद्यार्थीका टिम सहभागी हुने गरी प्रतियोगिता सञ्चालन गर्दै आएका छन्।  ‘स्कुलमा पढ्नमात्र होइन, हरेक क्षेत्रमा भविष्य बनाउन सकिन्छ भन्ने लागेर खेलकुदसँगै अरू प्रतिभावान् विद्यार्थीसँग काम गर्न थालें,’ उनले भने।

नेपालले क्रिकेटमा अन्तर्राष्ट्रिय रूपमै प्रगति गर्न थालेपछि धनगढीमा पनि क्रेज निकै बढ्यो। धनगढीलाई क्रिकेटको शहरका रूपमा विकास गर्नु पर्ने धारणा आएपछि यहाँ थप माहोल बनेको उनले बताए।  २०७३ सालमा उनी पढाउने स्कुलले नै प्रतियोगिता सञ्चालनमा सहयोग गर्‍यो। पहिलो पटक आयोजना भएको प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका थिए।

अर्को वर्ष दोस्रो सिजनबाट राष्ट्रिय अन्डर- १९ टोलीका ५ जना खेलाडी र स्कुलका अरू खेलाडी मिलेको टोली बनाउनु पर्ने नियम राखेपछि नयाँ खेलाडीलाई थप फाइदा पुगेको उनले बताए।  हरेक वर्ष अन्डर-१९ टोलीबाट केही खेलाडी टिममा समावेश गरी देशभरका दर्जनौं विद्यालयले लिटिल फ्लावर प्रिमियर लिगमा सहभागिता जनाउँदै आएका छन्।

प्रतियोगिताको पाँचौं संस्करण आइपुग्दासम्म धेरै खेलाडीको पहिचान हुन सकेको उनलाई लागेको छ।  ‘यसै वर्षमात्र हेर्ने हो भने पनि प्रधानमन्त्री कपमा एलपिएलबाटै उदाएका धेरै क्रिकेटरले मौका पाए,’ उनले भने।  गत वर्ष प्रतियोगिताको बेस्ट प्लेयर बनेका आरियो पौडेलले यस वर्ष भएको पिएम कपमा खेलेका थिए। यस्तै पहिलो सिजनका प्लेयर अफ दि सिरिज बनेका नारायण जोशीले पिएम कप खेले। उनी त अन्डर(१६ टिममा परेर थाइल्याण्डमा खेलेको टोलीमा पनि थिए।

दोस्रो संस्करणमा प्लेयर अफ दि सिरिज बनेका किरण कुमार ठगुन्ना र तेस्रो संस्करणमा प्लेयर अफ दि सिरिज बनेका शेर मल्ल देशकै उदयमान खेलाडीका रूपमा चिनिन थालेको शाहीले बताए।  खडक बोहराले एलपिएलमा शतक हानेपछि अन्डर- १९ को राष्ट्रिय टोलीमा बन्द प्रशिक्षणमा परेका थिए। यस्तै लोश बम अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लवमा आवद्ध भई व्यावसायिक क्रिकेट खेलिरहेका छन्।

भारतमा खेलिरहेका सुरज तिरुवा जस्ता खेलाडीलाई पनि एलपिएलले चिनाउन मद्दत गर्‍यो।  अहिले त छोरीहरू पनि क्रिकेट खेल्नतर्फ लागेका छन्। शाहीले महिला प्रशिक्षकको खोजी गरिरहेका छन्। छात्राहरूको टोली पनि बनाएर प्रतियोगिता आयोजना गर्न उनको तयारी छ।   एलपीएललाई क्रिकेट एसोसियसन अफ नेपाल सुदूरपश्चिम प्रादेशिक संघबाट अनुमति मिलेको छ। क्यानले यस प्रतियोगिताका लागि प्राविधिक सहयोग पनि गर्दै आएको छ।

‘अम्पायर र अरू केही प्राविधिक क्यानले पठाउँछ,’ शाहीले भने।  पाँच वर्षअघि  प्रतियोगिता सुरू हुने बेला अभिभावकले शाहीलाई भन्थे  यो मास्टरले खेलाउँछ मात्र पढाउँदैन। अहिले  क्रिकेटमा रुची भएका अभिभावक बच्चा सहित उनलाई भेट्न आउने गरेका छन्।  एक जना अभिभावक दीपक आचार्यले अहिले अभिभावकले पनि केटाकेटीलाई खेलतर्फ प्रोत्साहन गर्न थालेका बताए।

‘हिजो पढाइमा कमजोर र बिग्रेका केटाकेटीले मात्रै खेल्छन् भन्ने थियो अहिले आफ्ना छोराछोरी खेलाडी बनून् भन्ने धेरैले चाहना राख्न थालेका छन्,’ आचार्यले भने।  यस वर्ष एलपिएलको पाँचौं संस्करण फागुन १५ देखि सुरू हुँदैछ। यस पटक देशभरबाट १२ विद्यालयका टिम सहभागी हुँदैछन्। सेतोपाटीबाट