बासस्थान खोजीमा भौंतारिँदै बाघ
2021/02/19, 11:18
 
bG

कैलालीको वसन्ता संरक्षित क्षेत्रमा गत सातादेखि एक वयस्क बाघ देखिएको छ । बाघको आक्रमणबाट संरक्षित क्षेत्रसँगै जोडिएको सामुदायिक वनमा घाँस, दाउरा लिन गएकी एक महिलाको ज्यान गयो ।

त्यसअघि पनि उक्त क्षेत्रमा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए । उक्त बाघ सीमावर्ती दुधुवा नेसनल पार्क वा शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हो भन्ने यकिन हुन सकेको छैन । पहिचान गर्न १७ जोडी क्यामेराबाट ट्र्यापिङ सुरु भएको छ ।

दुई वर्षअघि पनि त्यस क्षेत्रमा वयस्क बाघ देखिएको थियो । उक्त बाघ दुधुवा नेसनल पार्कबाट आएको थियो । रेडियोकलर जडान गरिएको बाघको भारतले अनुमगन गरिरहेका थियो । रेडियो कलरको सम्पर्कविच्छेद भएपछि उक्त बाघ कहाँ गयो भन्ने खुल्न सकेन ।

२०१८ को राष्ट्रिय गणनामा वसन्ता संरक्षित क्षेत्रमा बाघ देखिएको छैन । तर पनि यहाँ बेलाबेलामा बाघ आउने गरेको छ । ‘आफू बसेको ठाउँमा आहाराको अभाव भएपछि यता आएको हुन सक्छ,’ डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने, ‘भारतका संरक्षित क्षेत्रमा बाघको संख्या बढेपछि बासस्थानको खोजीमा यता आउने गरेका हुन् ।’ उनका अनुसार वसन्तामा देखिएको बाघको विषयमा भने भारतीय पक्षले दाबी गरेको छैन ।

कैलाली र कञ्चनपुरका संरक्षित क्षेत्रहरूसँग भारतका दुधुवा नेसनल पार्क र पश्चिमतिर पिलिभित टाइगर रिजर्भ जोडिन्छन् । पछिल्लो गणनाअनुसार दुधुवामा ८२, पिलिभितमा ५७ को हाराहारीमा वयस्क बाघ छन् । चुरे फेदीको बुम–ब्रह्मदेव करिडोरसँग जोडिने भारतको नन्धौर वन्यजीव अभ्यारण्यमा पनि २७ बाघ छन् । ‘अहिले देखिएको बाघ वसन्ता करिडोर हुँदै भारतबाट आएको हुन सक्छ,’ विश्व वन्यजन्तु कोष नेपालका संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने, ‘बासस्थानको खोजीमा यता आएको हुन सक्छ, पुरानो ठाउँमा बस्न नसकेर नयाँ टेरिटोरीको खोजीमा भौतारिएको होला ।’

लालझाडी–मोहना करिडोर र वसन्ता करिडोरबाट शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका बाघहरू समेत ओहोदोहोर हुन सक्ने विज्ञहरू बताउँछन् । पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा १६ वयस्क बाघ छन् भने बर्दियामा ८७ बाघ छन् । राष्ट्रिय गणनामा कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रमा पनि एक बयस्क बाघ देखिएको थियो ।

बाघलाई निश्चित क्षेत्रमा विचरण गर्ने वन्यजन्तुका रूपमा चिनिन्छ । बाघ वृद्ध, अशक्त भएमा र जोडीको खोजीमा बासस्थान परिवर्तन गर्ने उनीहरू बताउँछन् । ‘अहिले मिटिङको समय पनि हो, जोडी खोज्दै दुधुवाको बाघ यतातिर विचरण गरिरहेको हुन सक्छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले भने, ‘बूढो भएर, घाइते भएर वा माउबाट भर्खर छुट्टिएको एडल्ट वयस्क बाघ बासस्थान खोज्दै भौतारिन्छन् ।’ वसन्ता संरक्षित क्षेत्रमा देखिएको बाघको अनुगमनका लागि बर्दिया राष्ट्रिय निकुञ्जकै प्राविधिकहरूले क्यामेरा ट्र्यापको काम गरिरहेका हुन् ।