सुनसान छ, सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड
2021/02/19, 4:09
 
tourist

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने संख्या दिन प्रतिदिन घट्न थालेको छ । पछिल्लो समयमा कोभिड १९ का कारणले ओरालो लागेको नेपालको पर्यटन व्यवसायको असर खप्तडमा पनी पर्न थालेको छ ।

बझाङतर्फको खप्तड जाने अन्तिम गाउँ दारुगाउँमा पर्यटकहरुको सेवा सुविधाका लागि स्थानीयबासीले होमस्टे बनाएको भए पनि पछिल्लो समयमा पर्यटक आउने क्रम न्यून भएपछि व्यवसाय नै धरापमा परेको छ ।

जयपृथ्वी राजमार्गका तमैलदेखि लामातोलाहुँदै दारुगाउँसम्मको यातायातको सुविधालाई भरपर्दो बनाउन सडकको स्तर उन्नति भइरहेको छ । खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भने–एग्रो टुरिज्मलाई जोड्ने हिसाबले दारुगाउँमा होमस्टेका लागि केही पूर्वाधार पनि निर्माण हुन लागेका छन् । त्यसैसंग मिलेर गाउँपालिकालेसमेत आवश्यक वातावरण तयार पार्न सहयोग गरिरहेको छ । 

सडक यातायातबाट चार पाँच घण्टा उकालो हिडेर खप्तड पुगिने हुँदा अहिले खप्तड जाने प्रायः सबै पर्यटकहरु बझाङको बाटो छोटो र सजिलो भएकाले यतैबाट जाने गर्दछन् । खप्तड आउने जाने मानिसको पछिल्लो समयमा संख्या घट्दै गएकाकारण यस क्षेत्रका व्यवसायीसमेत चिन्तामा छन् । स्थानीय व्यवसायी वीरेन्द्र रावलले भने–‘कोरोना संक्रमण संक्रमणसंगै पर्यटक आउन छोडेपछि त्यसको मारमा व्यवसायी परेका छौं ।’ 

काठमाण्डौबाट एक घण्टाको हवाई दूरीपछि धनगढीबाटसमेत बझाङमा हवाई सेवा उपलब्ध छ । पर्यटन व्यवसायी किशोर खड्काले भने–‘अहिले त ६ घण्टामा काठमाण्डौबाट खप्तड पुग्न सकिन्छ । खप्तड आउने पर्यटकहरु धनगढीबाट २२ मिनेटको हवाई यात्रा गरी बझाङको देवल विमानस्थल पुग्छन् र त्यहाँबाट एकघण्टाको गाडीको यात्रापछि दारुगाउँ पुग्छन् । त्यहाँबाट झण्डै तीन घण्टाको पैदलपछि खप्तड पुग्न सकिन्छ ।

यहाँबाट तिव्वतको कैलाश मनासरोवर र भारतको ब्रदी केदारनाथको हिमाली श्रृङ्खला पनि अवलोकन गर्न सकिन्छ । साथै खप्तड बाबाको कुटी दुर्लभ जातका चराचुरिड्गी फूल र जडीबुटी पनि देखिने हुँदा यसलाई देवभूमि र धर्तीको स्वर्ग भनेर पनि चिनिन्छ । 
गोरखापत्रबाट