‘हत्या, हिंसा, बलात्कार यो सरकारको उपहार भयो’
2021/02/20, 4:18
 
dilla

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले छोरीचेलीहरुको सुरक्षा गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदासमेत सरकारले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकेको टिप्पणी गरिन् ।

उनले भनिन्–’हत्या, हिंसा र बलात्कार वर्तमान सरकारको उपहार जस्तो बनिरहेको छ । हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमात्कार जस्तो भइरहेको छ ।’ बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्ट, निर्मला पन्त, सम्झना कामी लगायत दर्जनौ  अपराधीलाई तत्काल कानूनी कठ्घरामा ल्याई कडा सजाय दिन माग गरिन् ।

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको जिकिर गर्दै डा. संग्रौलाले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताइन् । उनले कानूनलाई टेकेर सर्वोच्च अदालतले उचित न्याय निरुपण गर्ने विश्वास समेत व्यक्त गरिन् ।

अवैधानिक सरकारले संवैधानिक परिषद्लाई कब्जामा लिएर गरेको असंवैधानिक नियुक्ति काँग्रेसलाई मान्य नभएको उनको स्पष्टोक्ति छ । नेपाली जनतालाई करको भारी बोकाउने सरकार, जनप्रिय हुनै नसक्ने भन्दै उनले कोरोना कहरमा पनि भ्रष्टाचारको आहालमा डुबेको सरकार सर्वत्र बदनाम भएको टिप्पणी गरिन् । नेपाली काँग्रेसको १४ औं महाधिबेसनका विषयमा बोल्दै नेतृ डाक्टर संग्रौलाले पार्टीभित्र एक तिहाई महिला प्रतिनिधित्व भएपनि अब नेतृत्व वा पदाधिकारीमै महिला सहभागिताका सुनिश्चितताका लागि आफूहरु लडिरहेको बताइन् । 

उनले भनिन्–‘काँग्रेसको १४ औं महाधिबेसन हुनुपर्छ । पार्टीमा एक तिहाई प्रतिनिधित्व होइन्, एक तिहाई नेतृत्व चाहिन्छ ।’  पत्रकार प्रश्नमा बोल्दै वर्तमान सरकारले निर्वाचन गर्छु भनेर प्रचार गर्नु ढवाङ्ग पिटे जस्तै हो संग्रौलाले भनिन् ।  मुलुकमा आन्तरिक र बाह्य चलखेल बढेको कारण मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाधिनतामा गम्भीर असर परेको उनले  बताइन् । 

केपी ओलीले खोक्रो राष्ट्रवाद र समृद्धिको टोपी लगाएर सुरु गरेको यात्रा बीचमै तुहिएको उनको भनाइ छ । सुखी नेपाली समृद्ध नेपाल नारा दुःखी नेपाली, अस्थिर नेपालमा परिणत भएको बताउँदै केन्द्रीय सदस्य संग्रौलाले घर घरमा ग्यासको पाइप, पानि जहाज , रोजगारीको नारा झूटा साबित भएको बताइन् । दूर दराजका जनतालाई पानी जहाज रेलभन्दा शिक्षा , स्वास्थ्य र रोजगार आजको आवश्यकता भएको उनको भनाइ छ ।