निगलासैनी वारियर्सलाई उज्यालो टि–१० लिगको उपाधि
2021/02/20, 4:52
 
cricket

बैतडीको देहिमाडौंमा सम्पन्न प्रथम उज्यालो टि–१० लिग (युसिएल) क्रिकेटको उपाधि निंग्लाशैनी वारियर्स ‘ए’ ले हात पारेको छ। निंग्लाशैनीले कैलपाल क्रिकेट क्लबलाई ९ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो।  

कैलपालले दिएको ८८ रनको लक्ष्य निंग्लाशैनीले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतीका पुरा गर्यो। निंग्लाशैनीको जितका लागि राम चन्दले अर्धसतकिय पारीका साथ ५० रन बनाए। कैलपालका लागि सुनिल कार्कीले १ विकेट झारे।

त्यसअघि निंग्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको कैलपाल क्रिकेट क्लबले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ८७ रन बनायो। जसमा जीवन चन्दले सर्वाधिक २२ रनको योगदान गरे।  निंग्लाशैनी वारियर्सका धिरज मल्लले ३ विकेट हात पारे।  उपाधिसंगै निंग्लाशैनीले नगद २५ हजार हात पारेको छ भने उपविजेता कैलपालले १२ हजारमा चित्त बुझायो।  

फाइनल खेलका म्यान अफ द म्याच निंग्लाशैनीका राम चन्द भए। प्रतियोगिताभर व्यक्तिगत १३० रन र ६ विकेट हात पारेका राम चन्द नै म्यान अफ द सिरिज भए। प्रतियोगितामा  १० विकेट हात पारेका कैलपालका विरेन्द्र चन्द बेस्ट बलर, १४५ रन हिर्काएका निंग्लाशैनीका डम्बर बुडाल बेस्ट ब्याट्सम्यान  र उदयीमान खेलाडी  निंग्लाशैनी वारियर्स बी का अंकित धामी भएका छन्।   

विजेता तथा उपविजेता टोलीलाई जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, दशरथचन्द नगरपालिका वडा नम्बर २ का अध्यक्ष रनबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशी लगायतले पुरस्कार वितरण गरेका छन्।   निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी र दशरथचन्द नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा फागुन ४ गतेदेखि  सुरु भएका प्रतियोगितामा १४ टोली सहभागी रहेका थिए। 

बैतडीमा क्रिकेट विकासका साथै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको सञ्चालन गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका संयोजक दीपेन्द्रबहादुर बोहराले बताए।