भारतसँग संवाद भइरहेको छ, गुमेको भूमि फिर्ता ल्याउँछौं: प्रधानमन्त्री ओली
2021/02/22, 3:47
 
pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको भूमि समेटेर सरकारले नक्सा र संविधानमा उल्लेख गरेको भन्दै अब गुमेको भूमि फिर्ता ल्याउने दाबी गरेका छन्।

कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै उनले भारतसँग वार्ता र संवाद भइरहेको बताए। ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं’’ उनले भने, ‘अब यसले एउटा वातावरण बनेको छ। भारतसँग संवाद भइरहेको छ।’

सुदूरपश्चिम सुन्दर पश्चिम मात्रै नभएर आर्थिक हिसाबले विकसित हुने दिशामा अघि बढेको भन्दै उनले सरकारले विकसित प्रदेशका रुपमा अगाडि बढाउने बताए।  

‘औद्योगिक क्षेत्रले यहाँका जनतालाई रोजगारी दिने छ। यहाँका उद्योगले सीप विकास र तालिम, अनि रोजगारीको सिर्जना गर्नेछन्,‘उनले भने, ‘औद्योगिक क्षेत्र स्थापना भएपछि अन्य गतिविधि, आर्थिक गतिविधि र क्रियाकलाप बढ्ने छन्। लगानीको वातावरण बन्ने छ।’

उनले आफ्नो नेतृत्वको सरकारले सम्वृद्ध नेपाल र सुखी नेपाली नारा अघि बढाइरहेको भन्दै देशले विकासको गति लिने बताए।