कञ्चनपुरमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने
2021/02/24, 6:37
 
criket

कञ्चनपुरमा दोस्रो संस्करणको पालिका स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।  बुधबार कञ्चनपुर जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलन गर्दै फागुन २० गतेदेखि २६ गतेसम्म पालिका स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने जनाएको छ।

महेन्द्रनगरको कबडहलमा सञ्चालन हुने टि–ट्वान्टी क्रिकेट प्रतियोगिता लिक कम नकाउट सिरिजमा खेलाइने आयोजकले जनाएको छ।प्रतियोगितामा विजेता टिमलाई १ लाख नगद सहित मेडल प्रमाणपत्र र उपविजेता टिमलाई ५१ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने छ भने बेष्ट व्याट्सम्यान, बेष्ट बलरलाई २ हजार ५ सय प्रदान गरिने जनाएको छ।

प्रतियोगितामा प्रत्येक पालिकाबाट आउने टिममा कम्तीमा ५ जना १९ बर्षमुनिका खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान रहेको अध्यक्ष चन्दले बताए। प्रतियोगितामा जिल्लाका ७ वटा स्थानिय तहको सहभागिता रहने कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार जिल्लाको भीमदत्त नगरपालिका, दोधराचाँदनी नगरपालिका, बेदकोट नगरपालिका, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकाको सहभागिता रहने छ। स्थानिय तहबाट आउने खेलाडीहरुलाई आयोजकले जर्सी प्रदान गर्ने जनाइएको छ।

खेलसंगै पर्यटन विकासका लागि पोशाकमा जिल्लामा भएका पर्यटकिय क्षेत्रलाई राखिने अध्यक्ष चन्दले बताए। खेल सञ्चालनका लागि अनुमानित खर्च ७ लाख २० हजार रहेको आयोजकले जनाएको छ।