कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः सामाजिक विकास मन्त्रालय मुख्य प्रवर्द्धक
2021/02/25, 11:31
 
sports award

धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको प्रवर्द्धकको रुपमा सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय मुख्य प्रबद्र्धक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशी तथा सदस्य दिनेश विष्ट सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बीच प्रबद्र्धन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्री सुवेदीले स्पोर्टस अवार्डको पहिलो संस्करण हेरेकोले प्रदेशको गौरब बढाउने खेलाडीलाई सम्मान गरिने कार्यक्रममा सहयोग गरेको बताए । उनले आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।  

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।

त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ । 

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।  

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।  

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।