कैलालीका चार जना युवाद्धारा सोया पनिर उद्योग सञ्चालनमा
2021/02/27, 11:53
 
corona

कोरोना प्रभावका कारण बेरोजगार बनेका कैलालीका युवाले संयुक्त रुपमा उद्योग सञ्चालन गरेका छन् । स्वरोजगार बन्ने उद्देश्यले कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका चार जना युवाले सोया पनिर (टोफु) उत्पादन उद्योग सञ्चालनमा ल्याएका हुन ।

उनीहरुले धनगढी उपमहानगरपालिका–८ मा उद्योग सञ्चालन गरेर उत्पादित सोया पनिर बिक्री वितरणको कार्य पनि थालेका छन् । ‘रोजगारीको सिलसिलामा भारतको गुजरात गएको बेला टोफु उत्पादनबारे जानकारी लिएको थिएँ’, सञ्चालकमध्येका एक पुरन चौधरीले भने । ‘त्यहाँ केही जानकारी हासिल गरेकाले अहिले यहाँ आएर यसको व्यावसायिक उत्पादन थालेका हौं ।’ 

सुदूरपश्चिम प्रदेशमा सोया पनिरको व्यापार राम्रो हुने अपेक्षाकासाथ गाउँकै चार जना युवा मिलेर उद्योग सञ्चालन गरेको उनको भनाइ थियो । चौधरीका अनुसार मलेसियामा कार्यरत भुईयाँफाँटा गाउँकै अर्पण चौधरी, भुवन चौधरीको उद्योगमा लगानी रहेको छ । यसैगरी, गाउँमा किराना पसल सञ्चालन गर्दै आएका दशरथ चौधरीले पनि उद्योगमा लगानी गरेका छन् । 

भारतमा टोफुको बजार एकदम राम्रो रहेको सञ्चालक चौधरी बताउँछन् । तर, सुदूरपश्चिम प्रदेशमा आफूहरुले पहिलो पटक टोफुको उद्योग सञ्चालन गरेकाले केही चुनौती पनि रहेको उल्लेख गरे । ‘सुरुवाती चरण भएकाले हामीलाई बजार प्रवद्र्धनमा ठूलो चुनौती र अवसर पनि छ’, उनले भने । 

टोफु दूध पनिरको विकल्पमा प्रयोग गर्न सकिने साकाहारी खानाको परिकार रहेको जनाइएको छ । भटमासको सोया मिल्कबाट टोफु बनाइने गरेकाले यो पौष्टिक तत्वयुक्त खाना रहेको अर्का सञ्चालक दशरथ चौधरीले पश्चिम टुडेलाई बताए । 

विदेशमा कमाएको पैसाले स्वदेशमै केही गर्ने उद्देश्यका साथ मलेसियामा रहेका साथीहरुले पनि उद्योगमा लगानी गरेको उनले उल्लेख गरे । युवाले टोफु प्रति किलो साढे तीन सय रुपैयाँ र प्रति प्याकेट सय रुपैयाँमा टोफु बिक्री गरिरहेका छन् । 

टोफुमा विभिन्न किसिमका पौष्टिक तत्व पाइने गरेका र दीर्घ रोगीहरुका लागि पनि यो फाइदाजनक रहने गरेको जनाइएको छ । कोरोना प्रभावका कारण रोजगारी गुमाएका युवा पछिल्लो समय व्यवसाय, कृषि उद्यमतिर आकर्षित भएका छन् ।