धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ सुरु
2021/02/27, 12:13
 
LPL 5

धनगढीमा आजदेखि चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ सुरु भएको छ ।  लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टस प्रालिको आयोजनामा विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मेयर ओडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै खेलकुद प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा सुरु भएको  प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा प्रतियोगिता भईरहेकोे लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए । 

प्रतियोगिताको उद्घाटन खेल आयोजक लिटल फ्लावर र गेटामा रहेको विद्या भूषण प्रतिस्पर्धा गरिरहेका छन् । देशभरबाट सहभागी १६ टिमलाई क्रम समूह ए, बी, सी र डी गरी ४ समूहमा विभाजन गरिएको छ । लिग चरणमा प्रत्येक टिमले ३÷३ वटा खेल खेल्न पाउने प्रतियोगिताका व्यवस्थापक ज्ञानेन्द्र दडीमाना क्षेत्रीले जानकारी दिए । 

फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।