लिटल फ्लावर प्रिमियर लिग : धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी
2021/03/02, 5:07
 
sar

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत आज भएका खेलमा धनगढीको शारदा मावि र  कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । आज भएको पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने अविशेक पालले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए । त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए । शारदाका अविशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए । 

आजै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए । शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए । ९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए । धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २÷२ विकेट लिए । खेलका म्यान अफ द म्याच कैलाश सिंह साउँद् भए । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । 
फोटो : महेन्द्र बम