ब्याडमिन्टन संघ कञ्चनपुरको अध्यक्षमा भट्ट
2021/03/02, 10:38
 
badget

कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ।   सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन।

कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए। त्यसैगरी सङ्घको उपाध्यक्षमा दिलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राकेशबहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यमा वासुदेव भट्ट, उत्तमकुमार बोहरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन्।

कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वारले लामो समयदेखि प्रशिक्षक बिहीन रहेको कञ्चनपुरमा स्वयम्सेवक प्रशिक्षक नियुक्त गर्न केन्द्रमा पहल भइरहेको बताए। 

“सुदूरपश्चिम दिपेश धामी, प्रिन्स दाहाल र आयुश नगारी जस्ता चर्चित खेलाडी जन्माउने भूमि पनि हो”, उपाध्यक्ष स्वारले भने,“अब स्कुलस्तरबाट ब्याडमिन्टन खेलाडी छनोट गरेर यसको विकास र विस्तारमा लाग्नुपर्छ।”