लिटल फ्लावर प्रिमियर लिग : हिमालयन ह्वाइट हाउस फाइनलमा
2021/03/12, 1:49
 
क्क

हिमालयन ह्वाइट हाउस स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस उपाधि नजिक पुगेको हो ।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

ह्वाइट हाउसका लागि कप्तान दिपक बोहराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्का दिपक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

शारदाका गणेश बहादुर बिटालुले ३ विकेट लिए । ह्वाइट हाउसले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा १२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो ।

उसका गणेश बहादुरले सर्वाधिक २२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ह्वाइट हाउसका कप्तान दिपक र सन्दीप शाहीले ३/३ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका कप्तान दिपक चुनिए ।

अब उपाधिका लागि ह्वाइट हाउसले लिटल फ्लावर र बाल बाटिकाबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् ।

त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।