मेयर एसपिए कप भलिबल प्रतियोगिताको उपाधिका लागि एसपिए र दुर्गालक्ष्मी भिड्ने 
2021/03/12, 6:48
 
volleyball

धनगढीमा जारी मेयर एसपिए कप भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए र अत्तरियाको दुर्गालक्ष्मी मावि भिड्ने भएका छन् ।

सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा भईरहेको छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि धनगढीको एसपिए र अत्तरियाको दुर्गालक्ष्मी भिड्न लागेका हुन् । 

शुक्रबार भएको पहिलो सेमिफाईनलमा दुर्गालक्ष्मी माविले दिपेन्द्र चारपाते माविलाई हरायो । दुर्गालक्ष्मीले दिपेन्द्र चारपातेमाथि २८–३०, २५–२१, २५–१२ र २५–२१ को सेटमा किनारा लगायो । दोस्रो सेमिफाईनल खेलमा एसपिएसले शान्ति माविलाई सोझो सेटमा किनारा लगायो ।

एसपिएले शान्ति माविमाथि २५–१९, २५–९ र २६–२४ को जित निकाल्यो । मेयर एसपिए कप भलिबल प्रतियोगिताको उपाधिका लागि एसपिए र दुर्गालक्ष्मी शनिबार प्रतिस्पर्धा गर्नेछन । त्यसैगरी तेस्रो स्थानका लागि शान्ति मावि र दिपेन्द्र चारपाते मावि खेल्नेछन । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कैलालीका आठ वटा टीमहरुको सहभागीता रहेकोमा उनीहरुलाई दुई समुहमा विभाजन गरिएको थियो । पहिलो र दोस्रो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।

दोस्रो दिन पनि सेमिफाईनलका खेल हुनुअघि चार वटा लिग चरणका खेलहरु भएका थिए । लिग चरणको पहिलो खेलमा एसपिएल कैलाली वहुमुखी क्याम्पसलाई हराएको थियो भने दोस्रो खेलमा शान्ति माविले एक्सिस विद्याश्रमलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा दिपेन्द्र चारपाते माविले कैलाली वहुमुखी क्याम्पसलाई किनारा लगाउँदा चौथो खेलमा शान्ति माविले जनता मावि गदरियालाई हराएको थियो ।