धनगढी एफसीको मार्की खेलाडीमा विशाल राई
2021/03/16, 10:54
 
aa

आगामी वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) मा सहभागी सात फ्रेञ्चाइज टिम मध्येको एक धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई मार्कीु खेलाडीको रुपमा अनुबन्धन गरेको छ।

विशाललाई आफ्नो टिमको मुख्य खेलाडीको रुपमा भित्र्याएको धनगढीले सोमबार घोषणा गरेको हो। विशाल र धनगढीबीचको सम्झौता रकम सार्वजनिक गरिएको छैन।

झापाका विशाल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेल्ने गर्छन्। २७ वर्षीय विशालले त्यसअघि मनाङ मर्स्याङ्दी क्लब र झापा ११ बाट खेलेका थिए।

राईलाई भित्र्याउन अन्य तीन टिमले पनि प्रस्ताव गरेका थिए। तर आफूलाई धनगढीको योजना राम्रो लागेकाले सम्झौता गरेको उनले बताए।

उनले यसपटकको लिगमा विदेशी खेलाडीको प्रभाव हुन सक्ने आँकलन गरे।  सन् २०१५ मा भारतविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका उनले नेपालले पछिल्ला वर्षमा जितेका उपाधिका महत्वपूर्ण योगदान दिएका थिए। उनी नेपालले बंगलादेशको बंगबन्धु गोल्डकप र सोलिडारिटी कप जित्दा राष्ट्रिय टिममा थिए।

एनएसएलमा धनगढीसँगै विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछन्। आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।

एक टिममा बढीमा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी, एक मार्की र दुई स्थानीय खेलाडी हुनेछन्। बाँकी खेलाडी अक्सनबाट छनोट हुनेछन्। अक्सन आगामी शुक्रबार गर्ने आयोजनको भनाइ छ।