कैलालीका लक्ष्मीदत्त भट्ट, जो चार पटक नेपाल च्याम्पियन भएका थिए 
2021/03/21, 11:21
 
kkk

धनगढी : लक्ष्मीदत्त भट्ट सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण नाम हो । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माएका कैलालीको गेटा निवासी भट्टलाई शुक्रवार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । 

भट्टले चालिसको दशकको सुरुवातमा एथलेटिक्स अन्तर्गतको हिडाई विधामा एकछत्र राज गरेका थिए । ६५ बर्षीय भट्टको खेलकुदसँगको साईनो छुटेको पनि तीन दशक पुग्न लागेको छ । नेपाली खेलकुदमा ईतिहास बनाएका बैकुण्ठ मानन्धर, हरि रोक्का लगायत खेलाडीका समकक्षी थिए उनी । कतिपय प्रतियोगिताहरुमा सँगै पनि खेलेका छन् । २०३१ सालदेखि २०४० सालसम्म एथलेटिक्सका राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याराथनमा सहभागीता जनाए । तर उनी कहिले पनि प्रथम हुन सकेनन् । अधिकांश प्रतियोगितामा दोस्रो नै भए । त्यही समयमा खड्ग रानाभाटसँगको भेटले उनको खेल्ने शैली फेरियो । म्याराथुन छोडेर उनी हिडाई अर्थात स्लो रेसतिर लागे । नभन्दै सफलतामाथि सफलता प्राप्त गरे । २० किलोमिटरको प्रतियोगितामा उनले तत्कालीन सेती अञ्चलको प्रतिनिधित्व गर्दै  चार पटक स्वर्ण पदक जिते । 

२०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २० किलोमिटर हिडाईमा दोस्रो भएका भट्टले २०४१ सालमा दाङमा भएको २४ औं एथलेटिक्स प्रतियोगितामा पहिलो स्वर्ण जित्दै दुई घण्टा ९ मिनेट २१ सेकेन्डको रेकर्ड राखे । २०४२ सालमा वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जिते । २० किलो मिटरको दुरीलाई सुधार गर्दै दुई घण्टा ७ मिनेट १० सेकेन्डमा झार्दै रेकर्ड सुधार गरे । २०४३ सालमै काठमाण्डौंमा भएको २६ औं राष्टिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्दै ह्याटिक गरे । उनले २० किलोमिटरको दुरी एक घण्टा ५७ मिनेट १९ दशमलव ३० सेकेन्डमा पुरा गरेका थिए । २०४५ सालमा महेन्द्रनगरमा भएको २७ औं राष्टिय एथलेटिक्स प्रतियोगितामा पनि स्वर्णमाथि कब्जा जमाएका थिए ।

२० किलोमिटरको हिडाईमा नेपालमा रेकर्ड बनाउन सफल भएका लक्ष्मीदत्त भट्टले नेपालको प्रतिनिधित्व गर्दै दुई वटा अन्तराष्टिय प्रतियोगितामा पनि सहभागीता जनाएका थिए । सन् १९८५ मा ईण्डोनेसियामा भएको छैटौं एसियन ट्याक एण्ड फिल्ड र सन् १९८७ मा सिंगापुरमा भएको सातौं एसियन ट्याक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गरे । दुबै प्रतियोगितामा पदक नजिते पनि आफ्नो प्रदर्शनलाई भने सुधार गरे । अन्तराष्टिय सहभागीतासँगै राष्टिय प्रतियोगितामा स्वर्ण जितेपछि उनलाई राखेपमा २०४६ सालमा सहायक प्रशिक्षकको रुपमा नियुक्ती मिल्यो । तीन बर्षसम्म काम गर्दा उनले धेरै खेलाडीलाई प्रशिक्षण दिए । तर २०४९ सालमा सरकारले नै प्रशिक्षकलाई निष्कासन गरेपछि उनको प्रशिक्षणमा पनि पुर्ण विराम लाग्यो ।