धनगढीको स्टार सिटी प्रेसिडेन्ट लिगको शीर्ष स्थानमा
2021/03/21, 12:35
 
1

कैलालीको स्टार सिटी युवा क्लब र बागमति प्रदेशको धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा जित निकालेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार सिटीले धम्बोझीलाई ३–१ ले पराजित गरेको हो ।

जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । स्टारले लगातार ३ खेल्दै ९ अंक जोडन सफल भएको छ ।

स्टारको जितमा टोप बहादुर विष्टले आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुप बहादुर लामाले ४१औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।

जितपछि कैलालीका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढदै गएको बताए । धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठ सुरुआतमा गोलकिपरको गल्तीको कारण खेल बिग्रिएको बताए ।

दोस्रो खेलमा धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।

धादिङको जितमा शिशिर लेखी, विजय भुजेल र कप्तान रबि भण्डारीले एक एक गोल गरे । खेलमा धादिङका शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।