प्याब्सन मेयर, उप–मेयर क्रिकेट कपको फाइनलमा छात्रतर्फ शारदा र विद्या भूषण भिड्ने
2021/03/24, 9:09
 
cricket

धनगढीमा जारी प्याब्स मेयर–उपमेयर छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार छात्रतर्फ फाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ। छात्रातर्फ भने फाइन खेल्ने टोलीको टुङ्गो मंगलबार नै लागेको थियो।

बुधवार सम्पन्न सेमिफाइनल चरणको पहिलो खेलमा हिल वर्ड इङलिस स्कूललाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कूलले फाइनलमा स्थान बनाउँदा ज्योति इङलिस स्कूललाई पराजित गर्दै शारदा विद्या निकेत पनि फाइनल प्रवेश गरेको हो। यी दुवै टोलीबिच उपाधीका लागि बिहीबार (भोलि) प्रतिष्पर्धा हुनेछ।

बुधबार सम्पन्न पहिलो सेमिफाइलन खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै विद्या भूषण पब्लिक स्कूलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो। उसका लागि नरेश विष्टले ३८, कप्तान सुरेन्द्र ऐरले १८, प्रवेश शाहले १५ तथा अमृत मल्लले १४ रन बनाएका थिए । बलिङ तर्फ हिल वर्डका सुवास विष्टले सर्वाधिक २ विकेट लिए।

१ सय ३४ रनको लक्ष्य पच्छ्याएको हिल वल्र्ड स्कूल ९ ओभर ४ बलमा अलआउट हुँदै ४२ रनमा समेटिन पुग्यो। हिल वल्र्डका कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकको जोड्न सकेनन्।

हिल वल्र्डलाई सस्तैमा समेटने क्रममा विद्या भुषणका कप्तान सुरेन्द्र ऐरीले ह्याट्रि सहित ४ विकेट लिए । उनले ९ ओभरको दोश्रो, तेश्रो र चौथो बलमा लगातार विकेट लिदै ह्याट्रिक गरेका हुन् । सो खेलका म्यान अफद म्याच कप्तान सुरेन्द्र ऐरी भए।

बुधबार नै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा टस हारेर पहिले व्याटिङ गरेको शारदा विद्या निकेतनले २० ओभरमा सवै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । शारदाका लागि विष्फोटक ब्याट्सम्यान दिनेश वडले ४३, अरुण धामीले १९, अविशेक मल्लले १७ तथा तपेन्द्र साउँदले १२ रन बनाएका थिए।

बलिङतर्फ ज्योतिका विवेक सिंहले ४, राजिव श्रेष्ठले ३ तथा कप्तान वीरेन्द्र आउजीले २ विकेट लिए।

१ सय ४३ रनको लक्ष्य पच्छ्याएको ज्योतिले २० ओभरमा सवै विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सक्यो। उसका जीवन खातीले ३७ तथा सागर बमले ३५ रन बनाए। 

बलिङतर्फ शारदाका कप्तान गोविन्द विष्टले ४ तथा अरुण धामी र बिरेन्द्र ढुंगालले समान २÷२ विकेट लिए । सो खेलका म्यान अफद म्याच शारदाका कप्तान गोविन्द विष्ट भए।

बिहीबार छात्रातर्फ एरिष्टो इङ्लिस स्कूल र अपि विद्या निकेतन विच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी छात्र तर्फ विद्या भूषण पब्लिक स्कूल र शारदा विद्या निकेतन विच फाइनल खेल हुनेछ।

प्रतियोगिता अन्तरगत बिहीबार हुने फाइनल खेलमा विजेता हुने छात्रा, छात्र तर्फको टोलीले समान एक लाख एक हजार एक सय एघार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप–विजेतालाई ५१ हजार एक सय एघार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।