रेशम चौधरीलाई जेलबाट निकालेर वार्ता सुरु गर्न माग, रेशमकै संयोजकत्वमा वार्ता टोली पनि गठन
2021/03/26, 4:06
 
tharu

टीकापुर घटनाको बन्दीका परिवार र अर्धभूमिगत रहेकाहरुले टीकापुर घटना मुद्दाको राजनीतिक रुपमा समाधान गर्नका लागि तत्काल वार्ता सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

भूमिगत रहेका थरुहट नेता लक्ष्मण थारुसहित बन्दीका परिवारको आज पत्रकार सम्मेलन गरी सो माग गरेका हुन । टीकापुर घटना मुद्दा फिर्ताका लागि पहल भइरहेकोप्रति सरकारलाई धन्यवाद दिदैं उनीहरुले रेशम चौधरीलाई जेल बाहिर निकालेर वार्ता गर्न माग गरेका छन् । 

वार्ताका लागि रेशम चौधरीकै संयोजकत्वमा छ सदस्यीय वार्ता टोली पनि गठन गरिएको छ । वार्ता टोली सदस्यमा लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुनीराम चौधरी, बिना चौधरी र यमुना चौधरी रहेका छन् । टीकापुर घटना मुद्दा फिर्ताका लागि पहल गरिरहेका सबैलाई बन्दी परिवारले धन्यवाद पनि दिएका छन् । 

टीकापुर घटना थारुहरुको विद्रोह रहेको र त्यसको राजनीतिक रुपमा समाधान हुनुपर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष समेत रहेका लक्ष्मण थारुले बताए ।  बन्दीका परिवारको भेलाले चार बुँदे निर्णय गरेको छ ।

वार्ता टोली गठनसहित मोर्चाले सो पत्रकार सम्मेलनमार्फत ४ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ। मोर्चाका संयोजक थारुले चैत्र २० गतेभित्र टीकापुर घटना सम्बन्धी मुद्दाको अपिल सर्वोच्च अदालतमा दायर गर्ने बताए। त्यस्तै थरुहट/थारुवान आन्दोलनले उठान गरेको मुद्दा र टीकापुर मुद्दालाई सम्बोधनका लागि संघर्षरत सबै पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। १ महिनाभित्रै आफुहरुको माग सम्बोधन नभए मोर्चाले सबैसँग समन्वय गर्दै सरकार विरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए।

टीकापुर घटना सम्बन्धी झुठा मुद्दा खारेज हुनुपर्ने बताउँदै संयोजक थारुले सबै राजनीतिक दल, थारु कल्याणकारिणी सभा, सरकारी पक्षलगायत सबै सरोकारवालासँग वार्ता गर्नको लागि वार्ता टोली गठन गरेको दाबी गरे। २०७२ सालमा भदौ ७ गते टीकापुर घटना भएको थियो । हिंसात्मक घटनामा नौ जनाको ज्यान गएको थियो । सो घटनामा उच्च अदालत दीपायलले पछिल्लो समय फैसला गर्दै आजीवन कैद सजाय सुनाएपछि लक्ष्मण थारु लगायतका केही थारु नेता अर्धभूमिगत छन् ।