धनगढीको स्टार सिटी एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन
2021/03/26, 5:41
 
aa

मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई २–१ ले पराजित गरेको छ । मनकामनाले खेल जितपछि एक खेल अगावै धनगढीको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।

शुक्रबार मनकामनाको जितमा शुवन बस्नेतले सुरुआतको नबौं मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाएका थिए । त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए । भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

उनलाई बागमति प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष दिपक चित्रकारले पुरस्कृत गरे । यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९आंै मिनेटमा गोल गरे । ५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टारसिटी शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।