सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी, बोहरा मुख्यमन्त्री बन्दै
2021/03/27, 11:03
 
rajniti

नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकार परिवर्तनको लागी गृहकार्य सुरु गरेको छ । माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एमालेको समर्थनमा तीन वर्षअघि मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका एमाले केन्द्रिय सदस्य लेखराज भट्टले प्रदेश सरकारले अपेक्षाकृत काम नगरेकाले सरकार परिवर्तनको लागी छलफल सुरु गरिने बताए ।

५३ सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैसंग २५ सांसद छन् । प्रदेश सभामा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका १४ र राजपासंग २ जना सांसद छन् । त्यसमध्ये सभामुख एमालेको छ भने उपसभामुख माओवादी केन्द्रसंग छ ।

सरकार गठनका लागी एमालेलाई राजपाको समर्थन भए पुग्ने अवस्था छ । एमाले केन्द्रिय सदस्य समेत रहेका प्रदेश सभा सदस्य झपट बोहराले आफ्नो दलको नेतृत्वमा सरकार गठनका लागी गृहकार्य सुरु भएको बताए । ‘हामीले नयां सरकार गठनको लागी छलफल सुरु गरेका छौं, एक दुई दिनमा नै केही परिणाम निस्केला ।’ बोहराले भने ।  उनले प्रदेश सरकार गठनका लागी सबै विकल्पमा छलफल सुरु गरिएको समेत बताए ।

प्रदेश सरकार गठन र एमाले संसदिय दलको नेता परिवर्तनको लागी एमाले सुदुरपश्चिम प्रदेशका नेताहरुले पार्टीभित्र छलफल सुरु गरेका छन् । त्यसका लागी प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक कर्णबहादुर थापा अहिले धनगढीमा छन् । ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले धनगढी आएका छौं। पार्टीभित्र यसबारेमा छलफल गर्छौं। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आम जनताको राय पनि त्यस्तै छ ‘यो प्रदेश सरकारले गति लिन सकेन, अब चांहि यसलाई फाल्नुपर्छ’ भन्ने नै छ।’ मन्त्री भट्टले भने ।

नेता भट्ट माओवादी केन्द्रमा हुंदा उनकै जोडबलमा त्रिलोचनलाई मुख्यमन्त्री बनाइएको थियो । तर, पछि मुख्यमन्त्री भट्ट एमाले नेता रावलसंग निकट भएका थिए । रावललाई हाल नेकपा एमालेले प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई इन्चार्ज बनाएको छ । मुख्यमन्त्री त्रिलोचनले प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री पठानसिंह बोहरालाई पुष १४ मा भौतिक योजना तथा निर्माणमन्त्रीबाट बर्खास्त गरेका थिए भने भट्ट निकट नेता अर्थमन्त्री झपट बोहराले पुष २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

अहिले मुख्यमन्त्रीको लागी पठानसिंह बोहराको नै बलियो सम्भावना देखिएको छ । एमाले संसदिय दलका नेता भने अहिले रावल पक्षिय नेता प्रकाश शाह रहेका छन् । उनलाई परिवर्तन गरेर बोहरालाई दलको नेता चयन गर्ने एमालेको तयारी छ । शाह अहिले प्रदेशको गृहमन्त्री समेत छन् ।

मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद विस्तारका लागी प्रयास गरेपनि एमाले नेता रावलको हस्तक्षेपको कारण उनि सफल हुन सकेनन । सुदुरपश्चिम प्रदेश सरकारमा अर्थ र भौतिक योजना जस्ता महत्वपूर्ण मन्त्रालय तीन महिनादेखी रिक्त छ । मुख्यमन्त्री भट्टले काम गर्न नसकेको, भ्रष्टाचार बढेको भन्दै उनको विकल्प खोज्नुपर्ने आवाज उठेको छ ।

यता, माओवादी केन्द्रमा समेत बहुमत सांसदहरुको उनको विकल्प खोज्नुपर्ने पक्षमा छन् । राष्ट्रिय सभा सांसद समेत रहेका माओवादी केन्द्रका नेता हरि चौधरी उत्सवले पनि सामाजिक संजालमै सुदुरपश्चिम सरकारको विकल्पबारे माओवादी केन्द्रले सोच्नुपर्ने बेला आएको धारणा सार्वजनिक गरेका छन् ।

प्रदेशसभामा एमालेमा ७ जना समानुपातिक सांसद छन् । ती मध्ये ६ जना एमाले नेता माधव कुमार नेपालको पक्षमा छन् भने १ जना ओली पक्षमा छन् । समानुपातिक सांसदलाई हटाएर भएपनि सरकार गठन गर्ने एमालेको तयारी छ ।

एमाले नेता बोहराले नयां सरकार गठनका लागी कांग्रेस र राजपासंग पनि छलफल जारी रहेको बताए ।