सुदूरपश्चिम सरकार ढाल्ने कसरतमा ओली समूह
2021/03/30, 10:09
 
rajniti

नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । 

एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ ।

सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो । तर, होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए ।

अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ ।

अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन् । उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारी भइरहेको आजको नागरिक दैनिकमा समाचार छ ।