तीन हजार मेट्रिक टन क्षमताको शितभण्डार गृह सञ्चालनमा
2021/04/01, 10:08
 
cold store

कैलालीको पहलमानपुरमा स्थापना गरिएको तीन हजार मेट्रिकटन भण्डारण क्षमता रहेको शित भण्डार गृह (कोल्ड स्टोर) सञ्चालनमा आएको छ ।

फागुन अन्तिम साताबाट सञ्चालनमा आएको सुदूरपश्चिमको सबैभन्दा ठूलो यो कोल्ड स्टोरमा किसानले आलु, प्याज, टमाटर, बन्दा, काउली, हरियो खुर्सानी, अदुवालगायत उपज राख्नसक्ने सुविधा छ ।

सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिले करिब १८ करोड रुपैयाँको लागतमा कोल्ड स्टोर स्थापना गरेको हो । कोल्ड स्टोर स्थापनाका लागि नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, कृषि ज्ञान केन्द्र कैलाली र स्थानीय घोडाघोडी नगरपालिकाको समेत गरी दुई करोड २९ लाख रुपैयाँ अनुदान लगानी भएको छ ।

तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई सिजनमा उत्पादन गरेको तरकारी भण्डारण गरी राख्न समस्या हुने गरेको थियो । उत्पादित तरकारी बिक्री नभएर खेर जाने गरेको थियो भने कतिपय किसान कञ्चनपुर, बाँके र दाङ लगेर तरकारी भण्डारण गर्ने गरेका थिए । 

कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरु धमाधम तरकारी राख्न थालेका छन् । केही दिनको अवधिमै साढे तीन हजार क्वीन्टर आलु भण्डारण भएको सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिका अध्यक्ष रामबहादुर रावतले जानकारी दिए । साना किसान पनि लाभान्वित होउन भनेर थोरै मात्रामा पनि तरकारी भण्डारणको सुविधा दिइएको उनले जानकारी दिए । 
 

कृषकलाई सहज 
कोल्ड स्टोर सञ्चालनले तरकारी भण्डारणमा सहज हुने भन्दै किसान खुशी भएका छन् । बिक्री नभएर बारीमै तरकारी कुहिने अवस्था नहुने उनीहरुको भनाइ छ । तरकारी खेतीमा संलग्न कृषक बिश्राम चौधरीले आलु र प्याज भण्डारण सुविधाले मात्रै पनि आफूहरुलाई धेरै सहज हुने बताए । ठूलो मात्रामा खेती गरिरहेका किसानले सिजनमा तरकारी खेर फाल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘कोल्डस्टोरहरु थपिने हो भने किसानलाई निकै सहज हुन्छ ।’

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले भण्डारण सुविधाले भारतबाट हुने तरकारीको आयात पनि घटाउने उनले बताए । ‘सिजनमा बिक्री नभएको तरकारी कुहिने, खेर जाने हुन्थ्यो । अब बजारीकरणको अभावले तरकारी खेर फाल्नुपर्नेे हुँदैन ।’ शर्माले भने, ‘उचित मूल्य नपाएका बेला किसानले कोल्ड स्टोरमा भण्डारण गरेर राख्न सक्छन् ।’ 

सिजनमा उत्पादन हुने तरकारी भण्डारण गरी राख्ने सुविधा नहुँदा सुदूरपश्चिममा वर्षेनी लाखौँ रुपैयाँ मूल्यको तरकारी भारतबाट आयात हुने गरेको छ । ठूलो क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएपछि बेसिजनमा भारतबाट हुने आयात घट्ने कृषि प्राविधिकहरुले बताएका छन्।

कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिममा कञ्चनपुरमा दुई हजार मेट्रिकटन र डडेल्धुरामा करिब एक हजार दुई सय मेट्रिकटन क्षमताका दुई वटा मात्र कोल्ड स्टोर छन् । नेपाल सरकारको सहयोगमा कैलालीमा फुलबारीमा निर्माणाधीन दुई हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ । केही ठाउँमा ससाना कोल्ड स्टोर पनि निर्माणाधीन अवस्थामा छन् ।

निर्माणाधीन सबै कोल्ड स्टोर सञ्चालनमा आए भारतबाट तरकारीको आयात धेरै हदसम्म घट्ने र तरकारीमा प्रदेश आत्मनिर्भर उन्मुख हुने कृषि ज्ञान केन्द्र प्रमुख शर्माले बताए । भण्डारण क्षमता नहुँदा आलुको बीउमा अहिले पनि पूर्ण रुपमा भारत निर्भर हुनु परेको उनले बताए ।

‘कोल्ड स्टोरहरु थपिन थालेका छन् । भण्डारणको सुविधा बढेको छ ।’ उनले भने, ‘अब तरकारी उत्पादनमा कृषलाई प्रोत्साहन गर्नुपर्छ ।’ तरकारी उत्पादन बढाउन सके बेमौसमी सिजनमा आयातमा निर्भरता र मनपरी मूल्य वृद्धि कम हुने शर्माले बताए ।