धनगढी मेयर उपमेयर कप फुटवलः महिला र पुरुष तर्फको उपाधिका लागि प्रतिस्पर्धा हुदैं
2021/04/01, 6:44
 
football

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्तबार खेल हुने भएका छन् । महिला तथा पुरुष तर्फका दुबै फाईनल खेल शुक्रबार वडा नम्बर ७ स्थित कालिका मन्दिरको खेल मैदानमा हुने भएका हुन् । 

महिला तर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन् । पुरुष तर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर ७ प्रतिस्पर्धा गर्ने भएका छन् । फुलबारी स्थित डी गाउँको खेल मैदानमा भएको पुरुष तर्फको पहिलो सेमिफाईनलमा वडा नम्बर ७ ले वडा नम्बर १६ लाई ३–१ ले हरायो ।

दोस्रो सेमिफाईनल खेलमा भने वडा नम्बर १२ वाकओभर पाउँदै फाईनल पुग्यो । वडा नम्बर १४ मै रहेको फुलबारी स्थित खेल मैदानमै भएको दोस्रो सेमिफाईनलमा वडा नम्बर १४ र वडा नम्बर १२ बीचको खेल दर्शक मैदान प्रवेश गरी रेफ्रीमाथि हातपात गर्न खोजेपछि खेल रोकिएको थियो । त्यसपछि वडा नम्बर ७ को खेल मैदानमा खेल खेल्नका लागि वडा नम्बर १४ अनुपस्थित भएपछि वडा नम्बर १२ फाईनल पुगेको हो । 

फुलबारी स्थित खेल मैदानमा भएको महिला तर्फका दुबै सेमिफाईनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्न यसअघि नै फाईनल पुगिसकेका छन् । 

प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, मनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।