धनगढी मेयर उपमेयर कप फुटवलः पुरुष तर्फ १२ र महिला तर्फ १९ लाई उपाधि
2021/04/02, 7:42
 
mayer

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भएको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत चैत १० गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको हो । 

वडाका टीमहरुको सहभागीता रहेको प्रतियोगिताको पुरुष तर्फ वडा नम्बर १२ र महिला तर्फ वडा नम्बर १९ ले उपाधि जितेका छन् । शुक्रबार भएका महिला तथा पुरुष तर्फका फाईनल खेलमा जित हात पार्दै दुबै वडा च्याम्पीयन भएका हुन् । 

2

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित कालिका खेल मैदानमा भएको महिला तर्फको फाईनल खेलमा वडा नम्बर १९ ले वडा नम्बर १२ लाई ४–० ले हरायो । १९ को जितमा दीपा रोकायाले ह्याट्रिक गरिन् । उनले २७ औं, ३३ औं र ६३ औं मिनेटमा गोल गरिन् । अस्मिता भुलले ४९ औं मिनेटमा एक गोल थपिन् । 

2

महिला तर्फको उपाधि जितेसँगै वडा नम्बर १९ ले नगद १ लाख १ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र पायो भने उपविजेता वडा नम्बर १२ ले  नगद ५१ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । महिला तर्फ वडा नम्बर १९ की अस्मिता चौधरी उत्कृष्ट खेलाडी, १९ कै निशा रोकाया उत्कृष्ट गोलरक्षक, वडा नम्बर १२ की सपना थापा उत्कृष्ट रक्षक र १२ कै चन्द्रा भण्डारी सर्वाधिक गोलकर्ता भईन् । उनीहरुले जनही नगद ५ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

पुरुष तर्फको खेलमा भने वडा नम्बर १२ ले वडा नम्बर ७ माथि रोमाञ्चक जित हात पारेको छ । १२ ले ७ लाई ३–२ ले किनारा लगायो । वडा नम्बर १२ का लागि भीम थापाले १७ औं र ७० मिनेटमा गरी दुई गोल गरे भने ३० औं मिनेटमा आशिष आचार्यले एक गोल गरे । वडा नम्बर ७ का लागि किरन वोहोराले २५ औं र ३३ औं मिनेटमा दुई गोल गरे । 

2

पुरुष तर्फ वडा नम्बर ७ का किरण बोहोरा उत्कृष्ट खेलाडी, वडा नम्बर १२ का भीम थापा सर्वाधिक गोलकर्ता, १२ कै खेम चयडा उत्कृष्ट रक्षक र १२ कै सौरभ लम्साल उत्कृष्ट गोलरक्षक भए । उनीहरुले जनही नगद ५ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगिताका विजयी खेलाडीलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिका संयोजक दिपक थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्ट प्रमुख अतिथि रहेकी थिईन् ।

फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, मनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको थियो ।