ललितपुरमाथि सुदूरपश्चिमको शानदार जित
2021/04/03, 8:01
 
cricket

सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार भएको दोस्रो खेलमा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।

ललितपुरले दिएको एक सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा मात्र तीन विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा मञ्जु बोगटी र डली भट्टले शानदार ब्याटिङ गरिन्। मञ्जुले ४२ बलमा ६ चौका सहित ४१ रन बनाउँदा भट्टले १४ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित २२ रनको योगदान दिइन्। यस्तै, रेवती धामीले १८, कविता जोशीले नटआउट १० र कविता कुँवरले ८ रन बनाइन्। बलीङमा सुमन खतिवडा र आरती विडारीले एक(एक विकेट हात पारिन्।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७ रन बनाएको थियो। उसका लागि कञ्चन श्रेष्ठले शानदार ब्याटिङ गरिन्।

उनले ५६ बलमा ८ चौकासहित अविजित ६३ रन बनाइन्। यस्तै, सुमन खतिवडाले १६ र अस्मिना कर्माचार्यले १३ रनको योगदान दिइन्। बाँकी ब्याट्सवुमनले दोहोरो अंकमासमेत रन जाड्न सकेनन्। बलीङमा कविता कुँवर, कप्तान रितु कनौजिया र सम्झना खड्काले एक(एक विकेट लिइन्। शनिबार नै भएको उद्घाटन खेलमा प्रदेश(१ लाई ८ विकेटले पराजित गर्दै एपीएफले पनि सुखद् सुरुवात गरिसकेको छ।

चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टिम सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार‚ उत्कृष्ट बलर र ब्याट्सवुमनले १५र१५ हजार रुपैयाँ पाउने छन्। हरेक खेलको प्लेयर अफ द म्याचले तीन हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा प्रदेश १, एपीएफ क्लब, लुम्बिनी प्रदेश‚ सुदूरपश्चिम प्रदेश र ललितपुर महानगरपालिकाको टोली सहभागी छन्।