सुदूरपश्चिम र एपीएफ ललितपुर मेयर कपको फाइनल खेल्दै
2021/04/10, 10:48
 
a

 पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।

बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ । एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो ।

एपीएफले ४ खेलमा ८ अंक जोड्यो । तर, सुदूरपश्चिमविरुद्ध फाइनलमा एपीएफलाई जित निकाल्न सफल भने हुने छैन ।

सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो । लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो ।

फाइनलमा सुदूरपश्चिम उक्त हारको बदला समेत लिन चाहन्छ । यता, एपीएफ आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।