ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय तयार गरिँदै
2020/06/04, 3:58
 
mandir

कञ्चनपुरको भीमदत्त नगर क्षेत्रमा बसोबास गर्ने सबै जनजातिको सांस्कृतिक सभ्यतालाई एकै थलोबाट प्रदर्शन गराउने ध्येयले वडा नम्बर ९ को ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय बनाइने भएको छ। यसका लागि नगरपालिकाले आवश्यक भवन निर्माण अगाडि बढाएको छ। नयाँ शहर आयोजना कार्यक्रमअन्तर्गत रु दुई करोड ८० लाखको लागतमा भवन निर्माण जारी रहेको छ। आगामी कात्तिक महिनाभित्रै भवन निर्माण गरिसक्नुपर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका नगर प्रमुखका प्रेस सल्लाहकार रनि विवसले बताए।

सङ्ग्रहालयको भवन आधुनिक शैलीमा निर्माण हुनेछ उनले भने, “आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सबै जानकारी सङ्ग्रहालयको सुविधा सम्पन्न भवनबाटै उपलब्ध गराइने गरी व्यवस्था गरिनेछ।” उनका अनुसार भवन निर्माणको झण्डै ५० प्रतिशत निर्माण कार्य पूरा भएको छ। सुदूरपश्चिम प्रदेशमै पहिलोपटक नगर क्षेत्रमा बसोबास गर्ने सबै जनजातिका सांस्कृतिक कलालाई एकै ठाउँमा देख्न पाइने छ। 

ब्रह्मदेव ऐतिहासिक, सांकृतिक र धार्मिक केन्द्रका रुपमा परिचित रहेको छ नगर प्रमुख सुरेन्द्र विष्टले भने, “यस क्षेत्रको महत्व दर्शाउने कला संस्कृतिसँगै नगर क्षेत्रभित्र बसोबास गर्ने समुदायका कला संस्कृति, रहनसहन र परम्परागत शैलीलाई प्रदर्शित गराउने लक्ष्यसहित बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण अगाडि बढाइएको  हो।” 

सङ्ग्रहालय भवनमा डोटेली संस्कृति, परम्परागत सभ्यतासँग सम्बन्धित वस्तुहरुसँगै राना थारु, डगौरा थारु, राउटे, राजी, सुनाहालगायत समुदायका संस्कृतिसँग सम्बन्धित वस्तु राख्ने योजना नगरपालिकाको रहेको छ। लोप हुँदै गएका पहिरन, गहना, कला संस्कृति र रहनसहन, रीतिरिवाजसँग सम्बन्धित वस्तु सङ्ग्रहालयमा राख्नका लागि योजना बनाइएको छ।  वडाध्यक्ष राम नाथले भने, “पर्यटकीय क्षेत्रबारे जानकारी दिने कार्यसँगै पर्यटकलाई आवश्यक अन्य सुविधासमेत सङ्ग्रहालय भवनबाट प्रदान गरिने छ।” 

तत्कालीन राजा ब्रह्मदेवले राज्य गरेको भूमि, भीमदत्त पन्तको नुन काण्डले परिचित ठाउँ, सुदूरपश्चिम प्रदेशको प्राचीन व्यापारिक केन्द्र र भारतीय पर्यटकको गन्तव्यका रुपमा ब्रह्मदेव परिचित रहेको छ। सिद्धबाबाको दर्शनका लागि वर्षेनी हजारौँ भारतीय दर्शनार्थी यस क्षेत्रमा जाने गर्छन्। भारतीय निकटवर्ती टनकपुरमा रहेको पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीय दर्शनार्थी यस क्षेत्रमा जाने गर्छन्। तीन महिनासम्म यो क्षेत्र भारतीय श्रद्धालुका कारण भरिभराउ हुने गरेको छ। 

बहुचर्चित टनकपुर बाँधसमेत यसै क्षेत्रमा रहेको छ। यस क्षेत्रबाटै परापूर्वकालमा नेपाल र भारतको व्यापार सञ्चालन हुने गरेको थियो। पुराना व्यापारिक मण्डीका अवशेषहरु अझै यस क्षेत्रमा रहेका छन।