सत्र वर्षमा शुक्लाफाँटामा आठ गैंडा बढे, गैंडा संख्या १७ पुग्यो 
2021/04/11, 12:59
 
daida

नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज शुक्लाफाँटामा १७ वर्षमा आठ वटा गैंडा वृद्धि भएका छन् । दुई पटक गरेर चितवन राष्ट्रिय निकुञ्जबाट नौ वटा दुर्लभ एक सिङ्गे गैंडा स्थानान्तरण गरिएकोमा हालसम्म आठ वटा गैंडा वृद्धि भएका हुन ।

उपयुक्त बासस्थान रहेको यो निकुञ्जमा २०१८ को गणना र गतवर्षको ‘मोनिटरिङ’ अनुसार दुर्लभ एक सिङ्गे गैंडाको सङ्ख्या १७ वटा रहेको छ । यो वर्ष गरिएको गणनाको क्रममा पनि शुक्लाफाँटामा १७ वटा गैंडा नै रहेका छन् । 

शुक्लाफाँटामा १० वटा पोथी, चार भाले र तीन वटा केटो (बच्चा) रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए । उनले आठ वटा गैंडा वृद्धि हुनु सन्तोषजनक अवस्था रहेको उल्लेख गरे । ‘चितवनबाट गैंडा स्थानान्तरण गरि ल्याइसकेपछि हालसम्म यसै निकुञ्जमा आठ वटा गैंडाको जन्म भएको छ’, उनले भने । ‘१७ वर्षमा आठ वटा गैंडा बढ्नु भनेको निकै सन्तोषजनक अवस्था हो ।’ 

गैंडाले १६ महिनासम्म गर्भ धारण गर्ने गर्दछन् । यिनले एक वटा मात्रै बच्चा जन्माउने गरेको जनाइएको छ । माउले पाँच वर्षसम्म आफ्नो बच्चालाई दूध चुसाउने गरेको बताइएको छ । गैंडाको बच्चालाई बाघलेसमेत बढी मार्ने भएकाले अरु वन्यजन्तुको जस्तो छोटो समयमा धेरै हुने गरी गैंडाको सङ्ख्या वृद्धि हुँदैन । त्यसैले एक सिङ्गे गैंडाको सङ्ख्या संसारभरि कम रहेकाले यसलाई दुर्लभ मानिएको हो । 

एकै स्थानमा गैंडा वा अन्य कुनै वन्यजन्तु राख्दा रोग वा अरु कारणले एकैसाथ मृत्यु भएमा अस्तित्व नै नरहने खतरा रहन्छ । त्यसैले यस्ता खतराबाट जोगाउनका लागि राम्रो बासस्थान भएको उपयुक्त संरक्षित क्षेत्रमा यिनीहरुको स्थानान्तरण गर्ने गरिएको छ । सोही अनुरुप शुक्लाफाँटामा सन २००४ मा चार वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको थियो । 

सुरुमा एक भाले र तीन पोथी गैंडा स्थानान्तरण गरिएको थियो । त्यसपछि सन २०१७ मा एक भाले र चार पोथी गरी पाँच वटा गैंडा स्थानान्तरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटामा सात वटा पोथी स्थानान्तरण गरिएकोमा हालसम्म तीन वटा वयस्क पोथी गैंडा बढेका छन् । यसैगरी, दुई वटा भाले स्थानान्तरण गरी ल्याइएकोमा हालसम्म दुई वटा वृद्धि भइ वयस्क भाले गैंडाको सङ्ख्या चार पुगेको छ । 

शुक्लाफाँटामा यस वर्ष एउटा गैडाको मृत्यु भएको थियो । केही दिन अगाडिमात्रै सडेको अवस्थामा एउटा मृत गैंडा फेला परेको सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिए ।गैंडाको बासस्थानको लागि यो निकुञ्ज राम्रो मानिन्छ । खास गरेर दक्षिणतर्फको घाँसे मैदान, तालतलैया क्षेत्र र महाकाली नदी किनारको बरकुला क्षेत्र गैंडा बसोबासका लागि अत्यन्त राम्रो रहेको निकुञ्जको कार्यालयले जानकारी दिएको छ । आगामी सन २०२७ सम्म यो निकुञ्जमा गैंडा सङ्ख्या ५० सम्म पु¥याउने लक्ष्य राखिएको छ ।  

शुक्लाफाँटामा गैंडा गणनाको कार्य चैत १९ गतेदेखि मालुमेला क्षेत्रबाट सुरु गरिएको थियो । गैंडा गणनामा आठ जना प्राविधिक (गणक), चार हात्ती र हात्ती चलाउने १२ जना माहुते गरी २० जनाको टोली खटो थिए । 

नेपालमा ७५२ गैंडा
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । 

शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो सङ्ख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको ओलीले बताए । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ । 

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको ओलीले बताए । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन । 

पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्याङ्क सङ्कलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए ।

गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार हुँदै गरेको उनले बताए । यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणनामा खटिएका माहुते पुलिसराम थारुलाई पाटेबाघले आक्रमण गरी मारेको थियो ।