सुदूरपश्चिमका हर्कबहादुर, जो विश्वलाई यसपटक पनि आईपीएल देखाउँदैछन् 
2021/04/13, 11:44
 
kk

धनगढी – इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करण सुरु भइसकेको छ । खेल सुरु भएसँगै विश्वभर यसको रौनकता बढिरहेको छ । यही आईपीएलका लागि भारतमा छन्, सुदूरपश्चिमको डडेल्धुराका हर्कबहादुर कैनी (हरि) । डडेल्धुरामा जन्मिएका हरि कैनीले हामीले टेलिभिजनमा हेर्ने खेललाई आकर्षक बनाएर देखाउछन् । 

हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शक सामु पु¥याउने प्राविधिक टोलीमा कार्यरत उनी एक भिजन इन्जिनियर हुन् । उनले कन्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको कलर म्याचिङको काम गर्छन् । यस वर्षको आईपीएलमा उनी यही काम गरिरहेका छन् । 

त्यसो त उनले यसरी काम गरेको पहिलो पटक हैन । उनीसँग विगतमा विश्वकप क्रिकेट, आईपीएल, विश्वकप कबड्डी, बहुचर्चित आईफा अवार्डलगायतका विभिन्न इभेन्ट्सको प्रत्यक्ष प्रसारण गरेको अनुभव छ । यही अनुभवका कारण यस पटक पनि डडेल्धुराबाट उनलार्ई  बोलाइएको थियो ।

डडेल्धुराको अमरगढी नगरपालिका ७ मा २०३३ सालमा जन्मिएका उनले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि २०५६ मा उनी भारतको मुम्बई गए । मध्यम वर्गीय परिवारमा जन्मिएका हरिको उच्च शिक्षा अध्ययनपछि विवाह गर्ने योजना भए पनि बुवाले २०५३ मङ्सिर १० गते विवाह गरिदिए । 

अभावै अभावमा बाँच्नु भएका उनी विवाह गर्दा लागेको ऋण तिर्न सपनाको शहर मुम्बईतिर गए । मुम्बईमा उनले सोचेजस्तो सहज थिएन काम पाउन । तर कामलाई सम्मान गर्ने हरीले मुम्बईको एक निजी कार्यालयमा काम पाए । काम थियो चिया पकाउने र क्याबिनसम्म पु¥याउने । त्यसपछि उहाँले स–साना शुटिङ गर्ने कम्पनीसँग जोडिने अवसर पाए । अनि चिया पकाउने काम छोडेर नयाँ कामतिर लागे तर विना तलब काम सिक्न पाउने शर्तमा ।

त्यही अवधिमा अडियो–भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तीर्ण गरे । त्यसपछि सुरु भए उनका राम्रा दिन । सन् २००३ पछि भारतभित्र मात्र हैन विदेश जाने अवसर पनि हरिले पाए । उले भने, ‘विभिन्न इभेन्टहरुलाई प्रत्यक्ष प्रसारण गर्ने क्रममा इङ्ग्ल्याण्ड, मलेसिया, सिङ्गापुर, मकाउ, श्रीलङ्का, बङ्गलादेश, दुबई, दक्षिण अफ्रिका, वेस्ट इण्डिज, क्यानडा जस्ता थुप्रै देश पुगिसकेको छु ।’