सुदूरपश्चिमका नाकाबाट कामदारसंगै कोरोना भित्रिने क्रम बढ्दो
2021/04/14, 11:56
 
corona

सुदूरपश्चिमका नाकाबाट कामदारसंगै कोरोना भित्रिने क्रम बढेको छ । भारतमा कोरोना सङ्क्रमण तीव्र दरले बढेको बेला त्यहाँबाट फर्किरहेका नेपाली कामदारमा पनि सङ्क्रमण बढ्दो रहेको पुष्टि भएको हो । 

कामदार भित्रिनेक्रम बढेसंगै यो प्रदेशमा नयाँ सङ्क्रमण दर पनि ह्वात्तै बढेको छ । चैत १० गतेदेखि यता भारतबाट फर्किरहेका धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको गौरीफन्टा नाकामा चेकजाँच गर्दै आइरहेका स्वास्थ्यकर्मी अमित विकले बताए । 

‘परीक्षण जति बढाउँदै लग्यो, सङ्क्रमित फेला पर्नेक्रम पनि उति नै बढ्दै गएको छ’, उनले भने । ‘खास गरेर चैत १० गतेदेखि पोजेटिभ रेट बढ्दै गएको पाइएको छ ।’ गौरीफन्टा नाका भएर भारतबाट फर्किनेको चैत ३ गतेदेखि एन्टिजेन विधिबाट कोभिड परीक्षण गर्न सुरु गरिएको थियो । मंगलबार मध्याह्नसम्मको नतिजालाई समेत जोडेर हालसम्म आठ हजार ९६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४८० जनाको रिपोर्ट पोजेटिभ आएको विकले बताए । 

हाल दैनिक एक हजारदेखि डेढ हजारको सङ्ख्यामा नेपालीहरु भारतबाट फर्किरहेका छन् । तिनमा सङ्क्रमण बढ्दो रहेको पाइए पनि सबैको परीक्षण गर्न नसकिरहेको स्वास्थ्यकर्मीले जनाएका छन् । 

‘अब त सबैको परीक्षण पनि सम्भव छैन’, विकले भने । ‘भारतमा बढी संक्रमण रहेको ठाउँबाट फर्किएकाहरुको अनिवार्य र अरु ठाउँबाट आएकाहरुको शारीरिक तापक्रमण बढी भएमामात्रै परीक्षण गर्ने गरिएको छ ।’ यसैगरी, कोरोना सङ्क्रमण भयाबह नरहेको स्थानबाट समूहमा आएका व्यक्तिहरुमध्ये नमूना छनोटका आधारमा परीक्षण गर्ने कार्य भइरहेको छ । समूहका दुई÷तीन जनाको स्वास्थ्य परीक्षण गरेमा सबैको रिपोर्ट नेगेटिभ आए त्यो समूहलाई घर जान दिने गरेको स्वास्थ्यकर्मीले जनाएका छन् । तर, रिपोर्ट पोजेटिभ आएमा समूहका सबैको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । 

परीक्षण किट पर्याप्त नरहेको र सबैको परीक्षण गर्न सम्भव पनि नभएका कारण त्यसरी परीक्षण गर्न थालेको विकले बताए । नाकामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाहरुमा कुनै लक्षण नभएमा उनीहरुकै सहमति अनुसार आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा बस्नका लागि घरमै पठाउने गरिएको छ ।

घर जान नचाहेकाहरुलाई धनगढी उपमहानगरपालिकाको कार्यालयले उर्मामा व्यवस्थापन गरेको आइसोलेसनमा पठाइने गरिएको छ । भारतबाट काम गरेर फर्किनेहरुमा सङ्क्रमण बढ्दो रहेको पुष्टि हुन थालेपछि एक महिनाको अवधिमै आइसोलेसन सङ्क्रमितले खचाखच हुन थालेको छ ।

नाकाबाट आइसोलेसन सेन्टरसम्म पु¥याउने र व्यवस्थापन गर्ने कार्य धनगढी उपमहानगरपालिकाले गरिरहेको कोभिड–१९ व्यवस्थापन नगर उपसमितिका संयोजक नारायण बरालले जानकारी दिए । उनले हाल विभिन्न जिल्लाका ५५÷६० जना सङ्क्रमित आइसोलेसेन सेन्टरमा रहेको बताए । 

उनीहरुको लागि खानाको व्यवस्थापन भने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गर्दै आएको छ । यसैगरी, उनीहरुलाई सम्बन्धित जिल्लासम्म पु¥याउने कार्य पनि सोही कार्यालयले गरिरहेको बरालले बताए । गम्भीर समस्या देखिएका सङ्क्रमितलाई भने उपचारका लागि सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना गर्ने गरिएको छ । अस्पतालमा हाल आइसीयु र भेन्टिलेटरमा पाँच जना सङ्क्रमितको उपचारको भइरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

‘गम्भीर समस्या नभएका सङ्क्रमितलाई हामीले भर्ना लिइरहेका छैनौं’, उनले भने । ‘उहाँहरुलाई आइसोलेसनमा पठाउने गरेका छौं ।’ कोरोना सङ्क्रमण भएका सबैलाई अब सरकारी निकायद्वारा व्यवस्थित वा सञ्चालित आइसोलेसन वा क्वारेन्टाइनमा राख्न नसकिने जनाइएको छ ।

गम्भीर समस्या नभएकाहरु स्वास्थ्य मापदण्ड पालना गर्दै होम आइसोलेसनमा बस्न आवश्यक रहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । ‘गम्भीर समस्या भएकालाईमात्रै अस्पतालमा भर्ना गरिनु पर्छ’, उनले भने । ‘अरु सबै स्वास्थ्यको मापदण्ड पूरा गरेर होम आइसोलेसनमै बस्नु पर्छ हैन भने धेरै गम्भीर बिरामी भएमा उनीहरुलाई कहाँ राख्ने ?’ 

उनले एन्टिजेन परीक्षण गरेपछि पोजेटिभ नतिजा आएकाहरुको पीसीआर परीक्षण गर्न आवश्यक नरहेको र उनीहरु अनिवार्य रुपमा आइसोलेसनमा बस्न जरुरी रहेको बताए । ‘एन्टिजेन नतिजा ९५ प्रतिशत सहि हो’, उनले भने ।

‘कुनै कुनैमात्रै परीक्षण गर्ने क्रममा बिग्रेर नतिजा फरक हुन सक्छ । त्यसैले पोजेटिभ नतिजा आएकाहरु अर्को रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेसनमा बस्नुपर्छ ।’ सुदूरपश्चिम प्रदेशमा हालसम्म १४ हजार २०९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १४ हजार ५४ जना निको भइसकेका छन् । ५८ जनाको मृत्यु भएको छ ।