‘निर्मला हत्याको अनुसन्धान सकारात्मक बाटोमा छ, छिट्टै नतिजा निस्कन्छ’
2021/04/14, 12:42
 
death

प्रहरीले निर्मला पन्त बलात्कार-हत्या प्रकरणको अनुसन्धान सकारात्मक दिशातर्फ अघि बढेको जनाएको छ ।

कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा साढे दुई वर्ष बितिसक्दा पनि अभियुक्तको पहिचान हुन सकेको छैन । एक दर्जन बढी टोलीबाट अनुसन्धान गरिएको निर्मला प्रकरणमा प्रहरीकै अधिकारी कारबाहीमा परेका थिए । गलत अनुसन्धान गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी अनुसन्धान सकारात्मक दिशातर्फ अगाडि बढेको बताउँछन् । डीआईजी सुवेदीले भने, “हामी सूक्ष्म रुपमा अनुसन्धानमा छौँ । चाँडोभन्दा चाँडो नतिजामा पुर्‍याउने गरेर अनुसन्धानको दायरा साँघुरो बनाउँदै अन्तिम अवस्थामा छौँ । चाँडोभन्दा चाँडो लक्ष्यमा पुग्ने अर्जुनदृष्टिका साथ अगाडि बढेका छौँ ।”

लामो समय भएकाले सबुत प्रमाण संकलन नै ठूलो चुनौती भएको डीआईजी सुवेदी बताउँछन् । अदालतमा प्रमाणित हुने खालका प्रमाणहरु प्राप्तीको चरणमा रहेको डीआईजी सुवेदीको दाबी छ ।

विगतमा भएका कमजोरीलाई सच्याउँदै त्रुटिरहित ढंगले अनुसन्धान जारी राखिएको उनको भनाइ छ । पुराना सकारात्मक कुरा अहिले प्राप्त नयाँ विषयलाई समायोजन गरेर आफूहरु अनुसन्धानमा जुटेको सुवेदी बताउँछन् ।

०७५ साउन १० गते साथीको घर गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुले पनि साढे दुई वर्ष बितिसक्दा घटनामा कसको संलग्नता थियो भन्ने पहिचान हुनसकेको छैन । यो अवधिमा प्रहरीले एक हजार बढीको बयान गरिसकेको छ । शंकास्पदहरु थुप्रै भेटिए पनि अनुसन्धानमा सहयोग पुग्ने प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन ।

अनुसन्धानमा ८० जना बढीको डीएनए परीक्षण भइसकेको छ । जसमा केही सेनाका जवानको समेत रगत लिइएको थियो । अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली सक्रिय छ ।

अनुसन्धानको दायरामा सेनाका जवान, नजिकका आफन्त, आपराधिक पृष्ठभूमिका केही व्यक्तिलगायतलाई राखिएको छ । पछिल्लो समय प्रहरीले फरक–फरक ‘टाइमिङ’लाई आधार बनाएर समेत अनुसन्धान अघि बढाएको अधिकारीहरु बताउँछन् ।

कतिपय सन्दर्भमा भने प्रहरी अधिकारीकै मत अनुन्धानका क्रममा बाझिएको छ । तर, सबैजसो अनुसन्धान टोलीले घटनास्थल भने उखुबारी नै भएको निष्कर्ष निकालेका छन् ।