धनगढी एफसीको ‘आइकोनिक प्लेयर’ बने किरण चेम्जोङ
2021/04/15, 3:04
 
kk

नेपाल सुपर लिगको  फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लब (एफसी) को प्रशिक्षकमा युगलकिशोर राई र आइकोनिक खेलाडीमा रुपमा किरण चेञ्जोङ नियुक्त भएका छन् । धनगढी एफसीले दुवैसँग यस सिजनका लागि सम्झौता गरेको छ । 

३७ वर्षीय युगलकिशोर राई एएफसी ए कोचिङ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले यसअघि झापा यू–१९, झापा–११ फुटबल क्लब, झापा फुटबल क्लब र बासबारी क्लबको प्रशिक्षकत्व सम्हालिसकेका छन् । 

यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका किरण चेञ्जोङले भारतको आइलिग फुटबल खेल्छन् । उनले पाँच वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्ने तयारी गरेका छन् । २०७२ सालमा मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेपछि उनी पहिलोपल्ट घरेलु फुटबल खेल्न लागेका हुन् ।

२०६३ सालमा मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेल्न सुरु गरेका किरणले २०६४ देखि २०७२ सम्म थ्रीस्टार क्लबबाट खेलेका थिए । २०७२ मा मनाङ मस्र्याङ्दी खेल्दै उनी माल्दिभ्सको टीसी स्पोर्टस क्लब खेल्न गएका थिए । त्यहाँ उनले दुई सिजन बिताए ।  २०१८ देखि उनले भारतको आईलिग फुटबल क्लब मिनरेवा पञ्जावसँग अनुबन्ध गरे । त्यसयता उनले पञ्जावमा तीन सिजन बिताएका छन् ।
 
उहाँले २०६९ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेका थिए । यस्तै २०७१–७२ मा राष्ट्रिय लिग, २०१८ मा माल्दिभ्सको धिवेही प्रिमियर लिग र सोही वर्ष भारतको आइलिग उपाधि उचालेका थिए । तीन देशको लिग जित्ने उनी पहिलो खेलाडी समेत हुन् ।
 
अघिल्लो साता मात्रै उनको कप्तानीमा नेपालले दशरथ रंगशालामा थ्री नेसन्स कपको उपाधि जितेको थियो । किरणको कप्तानीमा नेपालले जितेको यो नै पहिलो उपाधि हो । जसक्रममा समूह चरणमा किर्गिस्तान–२३ र बंगलादेशलाई किरणले एक गोल पनि गर्न दिएनन् । यता फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । 

‘पाँच वर्षपछि लिगमा पुनरागमन गर्न लाग्दा उत्साहित छु । खेलाडीका लागि आर्थिक पाटो महत्वपूर्ण हुन्छ । धनगढीले गरेको प्रस्ताव मलाई चित्त बुझेर क्लबसँग सम्झौता गरेको हुँ । धनगढीसँग अनुबन्ध भएपछि किरणले भने, ‘क्लबले राम्रो गरेपछि खेलाडीले पनि राम्रो गर्नुपर्ने हुन्छ । मैले पनि सक्दो राम्रो गर्दै टोलीमा पोजिटिभ छाप छाड्ने प्रयास गर्नेछु ।’

यस्तै धनगढील यसअघि विदेशी प्रशिक्षकका रुपमा तोपे फुजालाई अनुबन्ध गरिसकेको थियो । नवनियुक्त प्रशिक्षक राईले फुजासँग मिलेर काम गर्ने बताए । उनले भने, ‘आइकोनिक खेलाडीमा किरण र मार्की खेलाडीमा विशाल छन् । हामीसँग अब तयारी पनि कम छ । तर, हामी राम्रो फुटबल खेल्ने प्रयास गर्ने छौ । फुजासँगै मिलेर काम गर्ने छौ ।’
 
ग्रो ड्रिमर्सको स्वामित्व रहेको धनगढी एफसीका मालिक सुबास शाहीले किरण र राईको आगमनसँगै टोली पूर्ण भएको बताए । अहिलेका हट केक खेलाडी किरणलाई अनुबन्ध गर्न पाउँदा उनले खुशी व्यक्त गरे ।