दार्चुला तिंकर सडकखण्डमा बेलुकी सवारी साधन सञ्चालनमा रोक
2021/04/17, 9:33
 
sadak

दुर्घटना बढ्न थालेपछि दार्चुला तिंकर सडकमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

दार्चुला तिंकर सडकखण्ड अन्तर्गत राताकाठा भीरमा दुर्घटना हुने क्रम बढ्न थालेपछि बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । 

प्रहरीका अनुसार राताकाठा क्षेत्रमा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै यातायात व्यवसायीसहितको सरोकारवालाको बैठकले सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

उक्त सडकखण्डमा निकै उकालो र खाल्डाखुल्डी रहेको हुँदा सडक सुधारको माग पटक पटक गरिए पनि कसैले चाँसो नदेखाएको बताइएको छ ।

सो सडकमा बेलाबेलामा दुर्घटना हुँदै आएको छ ।  गत चैत्र २८ गते मात्रै पनि राताकाठा भीरमा से १ ज ९११ नम्बरको जीप दुर्घटना भएको थियो 

बेलुकी ६ बजेपछिको समयमा नै बढीजसो दुर्घटनाहरु हुने गरेका छन् । २८ गतेको दुर्घटना पनि बेलुकी सवा सात बजे तिरको समयमा भएको थियो । दार्चुला तिंकर सडकखण्डको झण्डै ४० किलोमिटरसम्म सवारी साधन चल्ने गरेका बताइएको छ ।