कैलाली र कञ्चनपुरमा ७३ किलोमिटर हुलाकी राजमार्ग निर्माण
बसन्तामा निर्णय भो, काम सुरु भएन
2021/04/17, 10:01
 
hulaki

सुदूरपश्चिम प्रदेशमा हालसम्म ७३.२ किलोमिटरमा हुलाकी राजमार्ग निर्माणको कार्य पूरा भएको छ । कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा जम्मा १२४ किलोमिटर रहेको हुलाकी राजमार्गमा हालसम्म ७३.२ किलोमिटरमा कालोपत्रे गर्ने कार्य पूरा भएको हो । अझै ५०.८ किलोमिटरमा कालोपत्रेको काम बाँकी रहेको छ ।

कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगे पनि कञ्चनपुरमा अझै धेरै काम बाँकी रहेको छ । पूर्व सत्तीदेखि पश्चिम धनगढीसम्म जम्मा ६२ किलोमिटर दूरी रहेको कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य ५६.२ किलोमिटरमा पूरा भइसकेको छ । 

सन २०१० देखि कैलालीमा हुलाकी सडक निर्माणको कार्य सुरु भएको थियो । केही वर्षसम्म भारतीय निर्माण कम्पनी जीआर गावरले काम गरेर अधुरो सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

त्यसपछि नेपाल सरकारले आफ्नै लगानीमा राजमार्ग निर्माणको कार्य अगाडि बढाउँदै जाँदा यो जिल्लामा हुलाकी राजमार्ग निर्माणको कार्य लगभग पूरा हुने क्रममा रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । 

अब बसन्ता करिडोरमा चार किलोमिटर, धनगढीमा डेढ किलोमिटर र लालबोझीमा ३०० मिटर गरी जम्मा ५.८ किलोमिटर दूरीमा राजमार्ग निर्माण हुन बाँकी रहेको छ । धनगढीमा वैशाखभित्रै निर्माण कार्य पूरा हुने भए पनि बसन्ता र लालबोझीमा ढिलाई हुने आयोजनाका इन्जिनीयर पदम मडैले बताए । 

‘बसन्ता करिडोरको दुई किलोमिटरमा रुख कटानका लागि आदेश भए पनि काम अझै अगाडि बढेको छैन’, उनले भने । ‘लालबोझीमा ३०० मिटर दूरीमा नदीले सडक कटान गर्दै आएकाले तत्काल त्यहाँ पनि काम अगाडि बढ्दैन ।’ 

कैलालीमा यसअघि नै हुलाकी राजमार्ग निर्माणको कार्य पूरा भइसकेको खण्डहरुमा सडक स्तरोन्नतिको कार्य सुरु भइसकेको छ । यसअघि, निर्माण भएको मार्गलाई शहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको बनाउने कार्य भइरहेको छ । 

बसन्ता करिडोरको १४ किलोमिटरमा दुई लेनको सडक बनिसकेको र अन्य खण्डहरुमा स्तरोन्नतिका काम भइरहेको इन्जिनीयर मडैले बताए । यसैगरी, ६२ किलोमिटर नै लम्बाइ रहेको कञ्चनपुरमा हालसम्म १७ किलोमिटरमा कालोपत्रे गर्ने कार्य पूरा भएको छ । सो जिल्लामा अझै ४५ किलोमिटरमा कालोपत्रे गर्न बाँकी रहेको छ । 

२०७३ देखि कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु गरिएको थियो । धनगढीदेखि बुटाबारीसम्म २० किलोमिटर, बुटाबारीदेखि बेल्डाँडीसम्म २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्म २२ किलोमिटर गरी तीन प्याकेजमा निर्माणको कार्य भइरहेको छ ।

तीन वटै प्याकेजको म्याद सकिएको छ । छ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको इन्जिनीयर मडैले बताए । कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा हालसम्म एक अर्ब र कैलालीमा नयाँ पुरानो गरी तीन अर्ब रुपैयाँ लगानी भएको जनाइएको छ । 

बसन्तामा निर्णय भो, काम सुरु भएन
बसन्ता वन क्षेत्रमा दुई किलोमिटरमा रोकिएको हुलाकी राजमार्ग विस्तारको लागि कानूनी बाटो खुले पनि काम भने अझै अगाडि बढ्न सकेको छैन । नेपाल सरकारको मन्त्रिपरिषद्ले गएको फागुनमा रुख कटानको आदेश दिने निर्णय गरेको थियो ।

निर्णय भएको एक महिनाभन्दा बढी भए पनि काम अझै अगाडि बढाइएको छैन । कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नहुँदा चार वर्षदेखि काम रोकिएको थियो । 

कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वन क्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माणको कार्य भइसकेको छ । तर, कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो ।

सो खण्डमा राजमार्ग निर्माणका लागि २०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । जिल्लाको अरु सबैतिर हुलाकी राजमार्ग बनिसक्दा सो खण्डमा ट्रयाकसमेत खोल्न सकिएको छैन । 

उक्त खण्डमा तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीले राजमार्ग निर्माणको ठेक्का पाएका छन् । आउँदो जेठ मसान्तमा ठेक्का अवधि सकिने जनाइएको छ । तर, रुख कटान आदेशमा भएको ढिलाइका कारण ठेक्काको म्याद थप हुने मडैले बताए ।