
धनगढी ः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाउँदै एमाले फुट्न सक्ने संकेत दिएका छन् । शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै रावलले यस्तो बताएका हुन् ।

पार्टी विभाजन प्रधानमन्त्री ओलीले चाहेको आरोप लगाउँदै उनले एमाले फुट्नसक्ने बताएका हुन् । ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन,’ उनले भने, ‘केपी ओलीले विभाजन खोजिरहनुभएको छ । भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ । त्यसका लागि तयार हुनुहोला ।’ उनले पार्टीको नाम र चुनाव चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए ।
नेता रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउँदै भने, ‘ पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरिएको हो ।’ उनले आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चाल्न सकिने बताए । रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने बताउँदै विधान संशोधनलाई पनि अवैध भएको बताए । ‘विधान संशोधनको कार्य र केपी ओली अवैधानिक अध्यक्ष भइसकेका छन्,’ उनले भने ।
