बैतडीमा चितुवाको आतङ्क अझै रोकिएन
2021/04/19, 10:33
 
death

बैतडीको पुरचौडीमा चितुवाको आतङ्क अझै रोकिएको छैन।   जिल्लाको पुरचौडी नगरपालिकाका बस्तीमै पसेर चितुवाले पशुचौपायाको शिकार गर्न थालेपछि आतङ्क फैलाएको हो। 

पछिल्लो दुइ हप्ताको अवधिमा चितुवा (बाघ)ले बस्तीमा पसेर दैनिक रूपमा एउटै घरमा पालेका चार वटा बाख्रा मारेको पुरचौडी नगरपालिका ७ कोटिलाका पदम ऐरले बताए। बाघले बस्तीमै पसेर खसी, बाख्रा, कुकुर गरेर १२ वटा घरपालुवा जनावरको सिकार गरिसकेको ऐरले बताए। 

बैतडीका अधिकांश वनहरुमा डढेलो लागेको कारण चितुवाको यो आक्रमण भएको हुनसक्ने वन डिभिजन कार्यालय बैतडीले बताएको छ।  डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशब पराजुलिले घरपालुवा जनावरको क्षति भएमा प्रति पशुचौपाया १० हजारका दरले राहत दिने व्यवस्था गरिएको बताए। 

चितुवाले बाख्रा खाएको हो भने, प्रहरी मुचुल्का र स्थानीय सामुदायिक वनको सिफारिस लिएर आए एउटा बाख्राको १० हजार क्षतिपूर्ती दिइने उनले बताए।   चितुवाको आक्रमणबाट बच्न वनहरूमा डढेलो नलगाउन र लाग्न नदिन साथै सजक रहन डिभिजन वन कार्यालय बैतडीले आग्रह गरेको छ।