सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दर निरन्तर बृद्धि भइरहेको छ। चैत महिनाको दोस्रो सातादेखि निरन्तर सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दरमा बृद्धि भएको हो।
भारतमा कोरोना भाइरस संक्रमण एकाएक बढेपछि कामका लागि भारतका विभिन्न शहरमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेको हो। अहिले दैनिक सयौँको संख्यामा भारतबाट नेपालीहरु स्वदेश फर्किरहेका छन्।
गत चैत ३ गते भारतबाट फर्किनेहरूको सीमा नाकामा परीक्षण गर्न सुरु गरिएको थियो। सोही दिन भारतबाट आउने नेपालीहरूमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ।
सोमबार (वैशाख ६ गते) सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा सोमबार एक सय ७५ नमुना परीक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यसैगरी मंगलबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ४७ नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका सबैभन्दा धेरै २३ जना, गोदावरी र टिकापुरका ४/४ जना, लम्कीचुहा नगरपालीका, गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका, एक/एक जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तैगरी कञ्चनपुरको भीमदत्तका एकजना, कृष्णपुरका २ जना, संक्रमण पुष्टि भएको हो। डडेल्धुरा, बाजुरा र अछामका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। हाल अस्पतालमा ३३ जना कोरोना संक्रमितको उपचार भइरहेकोसमेत अस्पतालले जनाएको छ।
भारतका विभिन्न स्थानबाट नेपाल फर्किरहेका नेपालीहरूमा कोरोना भाइरस संक्रमण बढेको भए पनि कुन भेरियन्टको हो भन्ने विषयमा भने अन्यौल थियो। त्यसका लागि हङकङ पठाइएको नमुनामा सुदूरपश्चिम प्रदेशमा देखिएको कोरोना भाइरसको भेरियन्ट ‘युके भेरियन्ट’ पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो कोरोना भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुनाहरू गत चैत १५ गते काठमाडौं पठाइएको थियो। त्यसमध्ये तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदा त्यो भेरियन्टको प्रकार पत्ता लगाउन हङकङ पठाइएको नमुनामा तीन जनामा नै युके भेरियन्ट पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक/एक जनामा युके भेरियन्ट कोरोना रहेको पुष्टि भएको छ। त्यसपछि भने कसैको पनि नमुनामा भेरियन्ट छुट्ट्याउनका लागि काठमाडौँ पठाइएको छैन। एक चिकित्सकका अनुसार सुदूरपश्चिम प्रदेशमा फैलिएको कोरोना भारतमा जस्तै युके मात्रै नभएर अन्य मुलुकमा फैलिएको भेरियन्ट पनि पुष्टि हुने संकेत देखिएको छ।
‘अहिले भारतबाट आउने अधिकांश नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेको छ,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न गराउँन प्रदेशका सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई भनेका छौँ।’
उनले लक्षणसहित पुष्टि भएका संक्रमितलाई अस्पताल र बाँकीलाई होम आइसोलेशन र होम क्वारेन्टाइनमा बस्न भनेको बताए।
सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट आउने नेपालीहरूसँगै समुदायमा गरिएको परीक्षणमा समेत कोरोना पुष्टि हुने क्रम बढेको छ। गत चैत ११ गतेसम्म परीक्षणको तीन प्रतिशतमा पुष्टि भएको कोरोना अहिले बढेर ३० प्रतिशत पुगिसकेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।